गाजा पट्टीका विभिन्न ठाउँमा सोमबार भएको इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।
खान युनूसको दक्षिणमा रहेको क्विजान रस्वान क्षेत्रको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले बताएको छ।
त्यही सहरको अर्को हवाई आक्रमणमा धेरै प्यालेस्टिनी घाइते भएका छन्। अल–जाना क्षेत्रमा एक घरको आँगनमा पार्क गरिएको गाडीमा बम विस्फोट हुँदा एक जना घाइते भएको स्रोतले जनाएको छ। विस्थापितलाई निशाना बनाइएको हमलाका घाइतेहरूलाई कुवेतस्थित विशेष अस्पताल लगिएको छ।
कतार समाचार एजेन्सी (क्युएनए) का अनुसार खान युनूसमा आइतबार रातिदेखि इजरायली सेनाले विस्थापितहरूको आश्रयस्थल र पार्क गरिएका सवारीलाई लक्षित गरेर आक्रमण गरिरहेको छ।
गाजा पट्टीका विभिन्न सहरमा सोमबार भएका इजरायली हवाई आक्रमणमा करिब १६ जनाको मृत्यु भएको छ। दुई आवासीय घरमा भएको आक्रमणमा ४ जनाको ज्यान गएको छ।
अल–नुसिरात शरणार्थी शिविरको दक्षिणपश्चिममा रहेको अल–सवारा क्षेत्रमा भएको आक्रमणमा ४ जना घाइते भएका छन्। इजरायलले जनवरी १९ मा लागू भएको युद्धविराम सम्झौताअनुसार दुई महिनाको युद्धविरामपछि गाजा पट्टीमा फेरि आक्रमण सुरु गरेको छ। क्युएनए
प्रकाशित: ११ चैत्र २०८१ १३:१६ सोमबार