२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नौ महिनापछि अन्तरिक्षबाट फर्केकी सुनिता विलियम्सका लागि चुनौती के छन् ?

गत वर्षको नोभेम्बरमा सुनिता विलियम्स अन्तरिक्षमा हुँदा उनको स्वास्थ्यको बारेमा सामाजिक सञ्जालमा निकै टिप्पणी भएका थिए । यिनै हल्लाका बिच विलियम्सले नोभेम्बर १२ मा न्यु इङ्गल्याण्ड स्पोट्र्स नेटवर्कसँगको एक अन्तर्वार्तामा भनेकी थिईन्, ‘मेरो तौल घट्दै छ भन्ने हल्लामा कुनै सत्यता छैन। म बिल्कुल ठिक छु।’

नोभेम्बरको पहिलो साता न्यूयोर्क पोस्टले एक नासा अधिकारीलाई उद्धृत गर्दै सुनिता विलियम्सको तौल घटिरहेको समाचार प्रकाशन गरेको थियो । ‘सुनिताले पर्याप्त क्यालोरी लिन सक्दिनन्, त्यसले उनको तौल घटाइरहेको छ’ समाचारमा भनिएको थियो ।

तर त्यति नै बेला अन्तरिक्ष एजेन्सी नासाका प्रमुख स्वास्थ्य तथा चिकित्सा अधिकारी डा. जेम्स डी. पोल्कले भने उक्त भनाई सही नभएको बताएका थिए ।

‘म सुनितालाई विगत २० वर्षदेखि चिन्छु र म विश्वासका साथ भन्न सक्छु, सुनिता पहिले जस्तै देखिन्छिन्। उनको स्वास्थ्य एकदमै ठिक छ,’ उनले भनेका थिए ।

मात्र ८ दिनको अन्तरिक्ष मिसनमा हिँडेका सुनिता विलियम्स र बुच विल्मोर प्राविधिक समस्याका कारण नौ महिनासम्म अन्तरिक्षमा अड्किएका थिए र कुल २८६ दिन अन्तरिक्षमा बसेका थिए । नासाका प्रसिद्ध अन्तरिक्ष समेत रहेका  विलियम्स र बुच मंगलबार मात्र पृथ्वी फर्केका थिए  ।

नासाका अनुसार पृथ्वीमा फर्कनुअघि उक्त यानले पृथ्वीको ४,५०० पटक परिक्रमा गरेको थियो र प्रतिघण्टा १७,५०० माइलको गतिमा १२ करोड माइल बराबरको यात्रा गरेको थियो । तर अहिलेसम्म सर्वाधिक अन्तरिक्षमा बस्ने रेकर्ड रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभले राखेका छन् । मेक्सिको म्युजियम अफ स्पेस हिस्ट्रीका अनुसार भ्यालेरीले अन्तरिक्षमा ४३७ दिन, १७ घण्टा र ३८ मिनेट बिताएका थिए । उक्त अवधिमा, उनले पृथ्वीको ७,०७५ पटक परिक्रमा गरेका थिए । मानव शरीरमा अन्तरिक्षले पार्ने प्रभाव अध्ययनका लागि पोल्याकोभ महत्त्वपूर्ण मानिन्छन् ।

सूक्ष्म गुरुत्वाकर्षणको प्रभाव

६२ वर्षीय विल्मोर र ५९ वर्षीय विलियम्सले लामो समयसम्म अन्तरिक्षमा रहन पाउँदा खुसी लागेको बताएका छन् । दुवै जना अवकाशप्राप्त नौसेना कप्तान हुन् र उनीहरूसँग यथेष्ट अन्तरिक्ष अनुभव छ । दुवै जना पृथ्वीमा फर्किए पनि, उनीहरूलाई सामान्य जीवन बिताउन अझै कठिनाइ हुनेछ । अन्तरिक्षबाट फर्केपछि, पुर्ववत अवस्थामा फर्कन विशेष ‘रिकभरी’ प्रक्रियाबाट गुज्रनु पर्छ । 

पृथ्वीमा अवतरण गरेपछि उनीहरु दुबैलाई क्याप्सुलबाट सिधै स्ट्रेचरमा राखेर चिकित्सकीय निगरानीमा पठाइएको छ । यो  एक नियमित प्रक्रिया नै  हो । विशेष गरी सूक्ष्म गुरुत्वाकर्षणमा मांसपेशीहरू कमजोर हुन थाल्छन्, शरीरको सन्तुलन बिग्रन्छ र शरीरमा तरल पदार्थहरू परिवर्तन हुन थाल्छन् । सूक्ष्म गुरुत्वाकर्षण भनेको त्यस्तो अवस्था हो जब कुनै व्यक्ति वा वस्तु भारहीन हुन्छ। अन्तरिक्षमा गुरुत्वाकर्षणले काम नगर्ने भएकाले, अन्तरिक्ष यात्रीहरू भारहीन हुन्छन् । 

कस्तो प्रभाव पर्छ ?

विज्ञहरूका अनुसार लामो समयसम्म अन्तरिक्षमा बस्दा स्वास्थ्यमा प्रत्यक्ष असर पर्छ ।  महिनौँसम्म अन्तरिक्षमा बस्दा मानव शरीर र मनोविज्ञानमा पनि परिवर्तन आउँछ।

सबैभन्दा ठूलो परिवर्तन त्यति बेला आउँछ जति वेला अन्तरिक्ष यात्रीहरू सूक्ष्म गुरुत्वाकर्षणमा हुन्छन्। यस्तो अवस्थामा अन्तरिक्ष यात्रीहरू अन्तरिक्षयान भित्र वा बाहिर तैरिन थाल्छन् । उनीहरु हावामा झुन्डिएको जस्तो देखिन्छन् । विज्ञका अनुसार यस अवधिमा मांसपेशीहरू प्रयोगमा नआउने हुनाले कमजोर हुन थाल्छन्। यस्तो अवस्थामा  कुनै पनि व्यायाम उपकरण प्रयोग गर्न सकिँदैन । नासाका अनुसार यसले हड्डीहरूलाई कमजोर बनाउँछ । हड्डीहरूले शरीरको तौललाई धान्ने काम गर्छन्।  तर अन्तरिक्षमा, पृथ्वीको गुरुत्वाकर्षण बिना, हड्डीहरूले प्रत्येक महिना औसत १ प्रतिशत देखि १.५ प्रतिशत खनिज घनत्व गुमाउँछन् ।

यसबाहेक, उचित आहार र व्यायाम बिना, अन्तरिक्ष यात्रीहरूको मांसपेशी पृथ्वीको तुलनामा सूक्ष्म गुरुत्वाकर्षणमा पातलो हुन्छ ।  नासाका अनुसार सूक्ष्म गुरुत्वाकर्षणमा रगत र ‘सेरेब्रोस्पाइनल फ्लुड’ तलबाट माथि सर्न थाल्छ र त्यति बेला आँखा र मस्तिष्कको आकारमा परिवर्तन हुने प्रबल सम्भावना रहन्छ ।

यसै गरी, हड्डीबाट क्याल्सियम निष्कासन हुने भएकाले मिर्गौलामा पत्थरी हुने जोखिम पनि उत्तिकै हुन्छ । लामो समयसम्म सूक्ष्म गुरुत्वाकर्षणमा रहे। फर्के पछि, पृथ्वीको गुरुत्वाकर्षणमा समायोजन हुन धेरै कठिनाइ हुने वैज्ञानिक मत छ । त्यसैले अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीमा आइपुग्ने बित्तिकै चिकित्सा निगरानीमा राखिन्छ । त्यति बेला, सूक्ष्म गुरुत्वाकर्षणले पारेको प्रभावका कारण पृथ्वीको  गुरुत्वाकर्षणमा शरीरलाई सन्तुलनमा राख्नु एक कठिन परीक्षा हुन जान्छ । यी यात्रुले सीधा हिँड्ने, सीधा उभिने र शरीर सन्तुलन कायम राख्ने जस्ता चुनौती हरेक दिन सामना गर्नुपर्ने हुन्छ । 

विकिरणको प्रभाव

पृथ्वीमा हुने विकिरणभन्दा अन्तरिक्षमा हुने विकिरण फरक छ । पृथ्वीलाई चुम्बकीय क्षेत्रले घेरेको कारण यसले मानिसहरूलाई हानिकारक अन्तरिक्ष विकिरणबाट बचाइरहेको हुन्छ । तर तर जब कुनै व्यक्ति धेरै उच्च उचाइमा हुन्छ, विकिरणको जोखिम बढ्छ ।  लामो समयसम्म यो स्थितिमा बस्दा अन्तरिक्ष यात्रीलाई विकिरणबाट पीडित हुने जोखिम बढ्छ ।  यस्तो अवस्थामा क्यान्सरको जोखिम बढ्छ र केन्द्रीय स्नायु प्रणाली प्रभावित हुने सम्भावना पनि उत्तिकै बढ्छ । २०१७ मा प्रकाशित नासाको एक रिपोर्ट अनुसार, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेका अन्तरिक्ष यात्रीहरूले ६  महिनाको बसाइमा औसतमा ८० देखि १६० मिलिसिबट्र्स विकिरणको सम्पर्कमा आउँछन्।

तर, विकिरण फरक फरक प्रकारका हुन्छन् । एक मिलिसिबट्र्स अन्तरिक्ष विकिरण तीन वटा छातीको एक्स–रे बराबर हुन्छ । यसको तुलनामा, पृथ्वीमा एक औसत व्यक्ति प्रति वर्ष मात्र दुई मिलिसिबट्र्स विकिरणको सम्पर्कमा आउँछ । अन्तरिक्षमा रहँदा व्यवहार परिवर्तन, थकान, तनाव र अनिद्रा सामान्य जस्तै हुन्छन् ।

गत  जुन ६ मा बोइङ स्टारलाइनर अन्तरिक्ष यानको परीक्षण उडानमा यी दुई यात्रु अन्तरिक्ष  पुगेका थिए तर प्राविधिक गडबडीका कारण पृथ्वीमा अवतरण हुन ढिलाइ भएको हो । पृथ्वीको सतहबाट ४ सय ८ किमी माथि रहेको अन्तरिक्ष केन्द्रमा  पुगेका उनीहरू यानको पर्पल्सन प्रणालीमा समस्या आएपछि सोही केन्द्रमा बसेका थिए र  उनीहरु गएको यानलाई रित्तै फर्काइएको थियो । यसैबीचमा उनीहरूले, विभिन्न प्रयोग लगायत संयुक्त रूपमा ’स्पेस वाक’ अर्थात् यानबाट बाहिर निस्केर अन्तरिक्षमा हिँड्ने कार्य गरेका थिए ।

अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्नसाथ डोनाल्ड ट्रम्पले त्यसअघिको प्रशासनले अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा अलपत्र पारेको आरोप लगाएका थिए । उनीहरूलाई इलन मस्कले फिर्ता ल्याउने बताएका थिए । उक्त अन्तरिक्ष केन्द्रमा रहँदा उनीहरुलाई ४ पटकसम्म अत्यावश्यक वस्तु पठाइएको थियो । 

प्रकाशित: ६ चैत्र २०८१ १८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App