पाकिस्तानको बलूचिस्तान प्रान्तमा आतंककारी समूहले एक यात्रुवाहक ट्रेन अपहरण गरेका छन्।
क्वेटाबाट खैबर पख्तुनख्वा जाँदै गरेको जाफर एक्सप्रेसलाई नियन्त्रणमा लिँदै आतङ्ककारीहरूले १८२ यात्रुलाई बन्धक बनाएका छन्। यस क्रममा भएको गोलीहानामा २० सैनिकको मृत्यु भएको छ भने ट्रेन चालक गम्भीर घाइते भएका छन्।
मंगलबार दक्षिण-पश्चिमी पाकिस्तानको बलूचिस्तान क्षेत्रमा आतंककारीहरूद्वारा ट्रेनमा आक्रमण गरिएको थियो। पाकिस्तानी अधिकारीहरूका अनुसार, हतियारधारी समूहले ट्रेन रोकेर त्यसमा गोलीबारी गरेका थिए। घटनास्थलमा भएको भिडन्तमा ट्रेन चालक गम्भीर रूपमा घाइते भएका छन्।
बलूचिस्तान प्रान्तको स्वतन्त्रता माग गर्दै आएको उग्रवादी समूह बलूच लिबरेशन आर्मी (बीएलए) ले आक्रमणको जिम्मेवारी लिएको छ। बीएलएले १८२ यात्रुलाई बन्धक बनाएको दाबी गर्दै सुरक्षा बलहरू नहटाए उनीहरूको हत्या गर्ने चेतावनी दिएको छ।
पाकिस्तानी अधिकारीहरूले घटनास्थलमा थप सुरक्षा बल परिचालन गरिएको जानकारी दिएका छन्। बलूचिस्तानको सिबी अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरिएको छ। घटनास्थल पहाडी क्षेत्र भएकाले सुरक्षा बलहरूलाई त्यहाँ पुग्न कठिनाइ भइरहेको छ।
रेलवे नियन्त्रण कक्षका अनुसार, ट्रेनमा करिब ४५० यात्रु सवार थिए। ट्रेनलाई सुरुङ नम्बर ८ मा रोकेर आतङ्ककारीहरूले नियन्त्रणमा लिएका थिए। रेलवे प्रशासन यात्रुहरू र कर्मचारीहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ।
बलूचिस्तान पाकिस्तानको प्राकृतिक स्रोतहरूले भरिपूर्ण क्षेत्र भए पनि यहाँ लामो समयदेखि हिंसात्मक गतिविधिहरू जारी छन्। अलगाववादी समूहहरूले निरन्तर सरकारी सुरक्षा बलहरूमाथि आक्रमण गर्दै आएका छन्। पछिल्ला केही वर्षमा यहाँ भएका हमलाहरूले पाकिस्तानको सुरक्षा व्यवस्थालाई गम्भीर चुनौती दिएका छन्।
सरकारले नागरिकलाई अफवाहमा विश्वास नगर्न आग्रह गर्दै घटनाको छानबिन अघि बढाइसकेको जनाएको छ। बलूचिस्तान सरकारले आपत्कालीन सुरक्षा उपायहरू अवलम्बन गर्दै सम्पूर्ण सुरक्षा संयन्त्रलाई सतर्क अवस्थामा राखेको छ।
प्रकाशित: २७ फाल्गुन २०८१ २१:२५ मंगलबार