भारत, महाराष्ट्रको पुणेस्थित स्वारगेट बस डिपोमा एक २६ वर्षीया युवतीमाथि बसभित्र भएको बलात्कारको मुख्य अभियुक्त पक्राउ परेका छन्। पुणे प्रहरीले बिहीबार मध्यरातमा आरोपी दत्तात्रेय रामदास गडेलाई शिरुर तहसीलको एक गाउँबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पीडित युवती पुणेबाट फलटन (सतारा जिल्ला) जाँदै थिइन्। मंगलबार बिहान करिब ५ः४५ बजे उनी स्वारगेट बस पार्कमा बसको प्रतीक्षामा थिइन्। त्यही बेला आरोपी गडेले उनलाई दिदी भन्दै सम्बोधन गरेर सम्पर्क गरे। दिदी भन्दै मीठो कुराकानी गरेर उनले ती महिलाको विश्वास जिते।
जब उनले युवतीलाई कहाँ जाने हो भनेर सोधे, उनले फलटन जाने बताइन्। त्यसपछि गडेले ‘फलटन जाने बस यहाँ रोकिँदैन, अर्कै ठाउँमा छ’ भन्दै बस देखाउने बहानामा उनलाई डिपोभित्रको एउटा खाली शिवशाही बसमा लगे। त्यहाँ उनले बसको ढोका बन्द गरी युवतीमाथि बलात्कार गरे र घटनापछि फरार भए।
घटना बाहिरिएपछि पुणे प्रहरीले १३ टोली खटाएर अभियुक्तको खोजी तीव्र पारेको थियो। ड्रोन र कुकुरको सहायताले शिरुर तहसीलको उखु खेतमा खोजी गरिएको थियो। राज्य महिला आयोगकी अध्यक्ष रुपाली चाकणकरका अनुसार अभियुक्तको पहिचान सीसीटीभी फुटेजबाट भएको हो। प्रहरीले अभियुक्तमाथि भारु १ लाखको इनाम पनि घोषणा गरेको थियो।
पीडित युवती पुणेमा कार्यरत हुन्। घटनापछि उनले साथीको सल्लाहमा प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। यो घटनाले भारतभर आक्रोश फैलाएको छ। सन् २०१२ मा भएको दिल्लीको निर्भया बलात्कार प्रकरणको सम्झना गराएको छ। यो घटनालाई अक्षम्य भन्दै अभियुक्तलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको छ।
प्रकाशित: १६ फाल्गुन २०८१ ०९:११ शुक्रबार