८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकासँग युक्रेनको खनिज सम्झौता, ट्रम्पको समर्थन खोज्ने प्रयास

युक्रेनले अमेरिकासँग खनिज सम्झौताका सर्तहरूमा सहमति जनाएको छ। यस सम्झौतामा शुक्रबार हस्ताक्षर हुन सक्ने बताइएको छ। यो सम्झौतालाई कीभले वाशिङ्टनबाट भविष्यमा सुरक्षा प्रत्याभूति प्राप्त गर्ने रणनीतिक कदमको रूपमा हेरिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै नीति परिवर्तन गर्दै रूससँग संवाद बढाउने निर्णय गरेका थिए। सोही क्रममा उनले युक्रेनलाई अमेरिकी सैन्य सहयोगको बदलामा दुर्लभ खनिज स्रोतहरूमा पहुँच दिनुपर्ने माग अघि सारेका थिए।

यो सम्झौताअन्तर्गत अमेरिकाले युक्रेनका खनिज स्रोतहरूको संयुक्त विकास गर्नेछ। जसबाट आउने आम्दानी एउटा नयाँ कोषमा जम्मा हुनेछ। उक्त कोष अमेरिका र युक्रेनका लागि साझा हुने एक उच्च पदस्थ युक्रेनी स्रोतले एएफपीलाई जानकारी दिए।

स्रोतका अनुसार सम्झौतामा ‘सुरक्षा’ भन्ने शब्द समावेश गरिएको छ तर अमेरिकाले युक्रेनलाई सुरक्षा प्रत्याभूति दिने विषयमा स्पष्ट प्रतिवद्धता भने गरिएको छैन।

सम्झौतामा उल्लेख भए अनुसार अमेरिका स्थिर र समृद्ध युक्रेनमा लगानी गर्नेछ, दीर्घकालीन शान्ति कायम राख्न कार्य गर्नेछ र सुरक्षा सुनिश्चित गर्न प्रयास गर्नेछ। स्रोतले भन्यो ‘अहिले सरकारी अधिकारीहरू विस्तृत सर्तहरूमा छलफल गरिरहेका छन्।’ 

ट्रम्प–जेलेंस्की संयुक्त हस्ताक्षर सम्भावना

युक्रेनी स्रोतका अनुसार राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले सम्झौतामा हस्ताक्षर गर्न शुक्रबार वाशिङ्टन भ्रमण गर्न सक्नेछन्। ट्रम्पले पनि यसलाई पुष्टि गरेका छन्।

‘म सुन्दैछु, उहाँ (जेलेंस्की) शुक्रबार आउँदै हुनुहुन्छ,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने। ‘ उहाँले मसँग सम्झौतामा हस्ताक्षर गर्न चाहनुहुन्छ, जुन ठूलो सम्झौता हो, साँच्चै ठूलो।’

यसअघि जेलेंस्कीले ट्रम्पको $५०० अर्ब मूल्यका खनिज स्रोत अमेरिका दिनुपर्ने माग अस्वीकार गरेका थिए। जुन अमेरिकी सहयोगको आधिकारिक रकम $६० अर्बभन्दा धेरै गुना बढी हो। तर युक्रेनी स्रोतका अनुसार अमेरिकाले $५०० अर्बको सन्दर्भ सम्झौताबाट हटाएको छ। ‘हाम्रो अनुकूल नभएका सबै धाराहरू हटाइयो,’  स्रोतले भन्यो।

ट्रम्पले यसबारे भनेका थिए ‘यो सम्झौता ट्रिलियन डलरको पनि हुन सक्छ। यो जुनसुकै हुन सक्छ।’ 

तर जब पत्रकारहरूले युक्रेनले यसको बदलामा के पाउने भन्ने सोधे, ट्रम्पले सिधा उत्तर नदिई अघिल्लो अमेरिकी प्रशासनको सहयोगको आलोचना गरे। ‘बाइडेनले पैसा यति सजिलै उडाइरहेका थिए, मानौँ कपासको भुवा जस्तो,’  उनले भने ‘हामी त्यो पैसा फिर्ता लिन चाहन्छौँ।’ 

अमेरिकी नीति परिवर्तनले युक्रेनलाई असर

युक्रेनले यो सम्झौताबाट ट्रम्प प्रशासनसँगको सम्बन्ध सुधार्ने आशा राखेको छ। तर ट्रम्पले राष्ट्रपतीय कार्यभार सम्हालेपछि अमेरिकाको विदेश नीति ठूला परिवर्तनहरू भोगिरहेको छ।

ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग संवाद बढाउँदै युक्रेनलाई समर्थन गर्ने पारम्परिक अमेरिकी नीतिमा परिवर्तन गरेका छन्।

गत सोमबार अमेरिकाले संयुक्त राष्ट्रसंघमा युरोपेली सहयोगीहरूको सट्टा रूसको पक्षमा उभिएर युद्ध अन्त्यको प्रस्ताव अघि सारेको थियो। जसमा रूसको आक्रमणको निन्दा वा युक्रेनी भू-भागको अखण्डताबारे कुनै उल्लेख थिएन।

गत साता ट्रम्पले जेलेंस्कीलाई ‘’तानाशाह’ को संज्ञा दिएका थिए र ‘युद्ध छिट्टै अन्त्य गर्न’ चेतावनी दिएका थिए।

युरोपमा बढ्दो चिन्ता

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले सोमबार ट्रम्पसँग भेट गरेका थिए। तीन वर्षअघि रूसले युक्रेनमाथि हमला गरेको वार्षिकीको दिन ट्रम्पसँगको भेटपछि माक्रोंले जेलेंस्कीलाई छलफलको जानकारी दिए। बुधबार उनले अन्य युरोपेली नेताहरूसँग भर्चुअल बैठक गर्नेछन्।

ह्वाइट हाउसमा बोल्दै माक्रोंले ट्रम्पलाई चेतावनी दिएका थिए। उनले भनेका थिए, ‘शान्ति भनेको युक्रेनको आत्मसमर्पण होइन।’ उनले युरोपमा सम्भावित सैनिक तैनाथीबारे अमेरिका पनि समर्थनमा रहनुपर्ने बताएका छन्।

ट्रम्पको रूसप्रति नरम नीति देखेर युरोपेली मुलुकहरू चिन्तित छन्। उनीहरूलाई ट्रम्प प्रशासनले युक्रेन मात्र होइन, समग्र युरोपमै अमेरिकी समर्थन कटौती गर्न सक्ने डर छ।

ब्रिटेनका प्रधानमन्त्री कीर स्टार्मरले मंगलबार माक्रोंसँग टेलिफोन वार्ता गरेका थिए। डाउनिङ स्ट्रिटका अनुसार उनीहरूले युक्रेनमा स्थायी शान्ति स्थापनाका लागि ट्रम्पको प्रयासको प्रशंसा गरेका छन्।

स्टार्मर बिहीबार ह्वाइट हाउसको भ्रमण गर्नेछन्। उनले रूसको नयाँ आक्रमण रोक्न अमेरिकी ‘ब्याकस्टप’ (सुरक्षा प्रत्याभूति) आवश्यक रहेको बताएका छन्।

प्रकाशित: १४ फाल्गुन २०८१ १४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App