२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘आँखा खोल्दा म ह्वेलको मुखभित्र थिएँ’

भेनेजुएलाका २३ वर्षीय एड्रियन सिमान्कास र उनका पिता डेल सिमान्कास चिलीको पाटागोनियन तटमा रहेको म्यागेलन जलसन्धिमा कायाकिङ गर्दै थिए।

समुन्द्रको छालसँग खेल्दै आफ्नो कायाक अघि बढाइरहेका एड्रियनले एकाएक, पछाडिबाट कुनै ठूलो वस्तुले ठक्कर दिएको जस्तो महसुस गरे। त्यो क्षण उनले केही बुझ्नै सकेनन्— ह्वेलको मुखभित्र परेको थाहा पाउने बित्तिकै उनी झसंग भए।

‘आँखा खोल्दा म ह्वेलको मुखभित्र थिएँ’

बीबीसीसँग कुरा गर्दै एड्रियनले त्यो क्षण सम्झिए, ‘म एक सेकेन्डलाई टक्क रोकिएँ। मलाई महसुस भयो, म कुनै विशाल जीवको मुखभित्र छु। एकछिन त मैले सोचेँ, यो ओरका हुनसक्छ, अथवा कुनै समुन्द्री राक्षस ! म ‘पिनोकियो’ झैं ह्वेलको पेटभित्र बाँच्नुपर्ने त होइन ?’

 एड्रियन सिमान्कास।

त्यसपछि उनले अनुहारभरि केही ‘चिप्लिने’ पदार्थ महसुस गरे। चारैतिर गाढा नीलो र सेतो रंग मात्रै देखिन्थ्यो। ‘मैले के गर्न सक्थे र ?  मलाई निलिहाल्यो त ? यतिखेर लागेको थियो अब म यहाँबाट उम्किन सक्दिन!’ उनी सम्झन्छन्।

तर केही सेकेन्डमै उनले महसुस गर्न थाले— उनी माथितिर उचालिंदै थिए।

‘मैले एकछिन सास रोकेँ। थाहा थिएन, म कति गहिराइमा छु। लाग्थ्यो, सतहमा पुग्न निकै समय लाग्नेछ। तर दुई सेकेन्डमै म पानीमाथि निस्किएँ, अनि बल्ल बुझें— ह्वेलले मलाई निलेको थिएन, फालिदिएको रहेछ !’

एड्रियनका पिता डेल नजिकै अर्को कायाकमा थिए। अचानक ठूलो आवाज आयो। उनी पछाडि फर्किए, तर एड्रियन देखिएनन्।

‘मेरो मुटु थरथर काँप्यो। एक सेकेन्डका लागि लाग्यो, उसलाई केही भयो। तर फेरि पानीमाथि उसले टाउको निकाल्दा राहतको सास फेर्न सकेँ,’ डेलले भने।

त्यसपछि उनले ठूलो शरीर देखे, जुन पक्कै कुनै सामान्य माछा थिएन। ‘मैले तत्काल बुझेँ— त्यो निश्चित रूपमा ह्वेल नै थियो।’

डेलले आफ्नो कायाकमा क्यामेरा जडान गरेका थिए, जसले छालहरू खिचिरहेको थियो। तर त्यो क्यामेराले एड्रियनको जीवनकै अनौठो क्षण कैद गरिदियो।

‘त्यतिखेर त मैले केही देखेकै थिइनँ। तर भिडियो हेर्दा पो थाहा भयो— ह्वेलको ढाड र पखेटा देखिएको रहेछ। त्यो निकै विशाल थियो ! यदि मैले त्यसबेला देखेको भए, झन् डराउँथें होला,’ एड्रियनले भने।

‘ह्वेलले निल्न असम्भव’

तर एड्रियन भाग्यशाली मात्र नभई, विज्ञानकै कारण उनी बाँच्न सकेका हुन्। ब्राजिलियन वन्यजन्तु संरक्षणविद् रोक्ड जेकब्सन सेबाका अनुसार, ह्वेलको घाटी निकै साँघुरो हुन्छ।

‘ह्वेलको घाटी सामान्य पाइपजत्रो मात्र हुन्छ। त्यसैले उसले ठूला वस्तु निल्नै सक्दैन। कायाक, टायर वा ठूला माछासमेत निल्न सक्दैन,’ उनले भने।

उनका अनुसार, ह्वेल माछाको झुन्ड समात्ने क्रममा गल्तीले एड्रियनलाई समेत मुखभित्र पारेको हुन सक्छ। ‘जब ह्वेल छिटो गतिमा सतहमा आउँछ, कहिलेकाहीँ गल्तीले अन्य वस्तु पनि मुखभित्र पर्न सक्छ,’ उनले थपे।

जीवनको दोस्रो अवसर !

एड्रियनका लागि यो घटना जीवनकै रोमाञ्चक क्षणमात्र थिएन- उनले नयाँ जीवन पाए। ‘यो क्षणले मलाई जीवनबारे गहिरो सोच्न बाध्य बनायो। म अझ राम्रो गर्न सक्थें कि ? अब यो जीवनलाई अझ राम्ररी बाँच्नेछु,’ एड्रियनले भने।

यस घटनाले अन्य जलयात्रीलाई पनि चेतावनी दिएको छ। विशेषज्ञहरूले ह्वेल पाइने क्षेत्रमा कायाक, सर्फबोर्ड वा अन्य शान्त जलयात्राका साधनहरू नचलाउन सुझाएका छन्।

‘ह्वेलहरू सामान्यतः आवाजका आधारमा आफ्नो बाटो पहिल्याउँछन्। त्यसैले ह्वेल हेराइ वा अनुसन्धानका लागि प्रयोग गरिने डुंगाका इन्जिन जहिले पनि चालू राख्नुपर्छ,’ विशेषज्ञ सेबाले भने।

प्रकाशित: ७ फाल्गुन २०८१ १४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App