नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा ‘एकता राष्ट्रिय महाधिवेशन’ आयोजना गर्ने भएको छ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले महाधिवेशनको कार्यतालिका पारित गरेको हो।
पार्टी प्रवक्ता प्रकाश ज्वालाले शनिबार विज्ञप्ति जारी गर्दै महाधिवेशनको तयारी र सांगठनिक सुदृढीकरणका लागि असारदेखि नै विभिन्न चरणका कार्यक्रमहरू तय गरिएको जानकारी दिएका छन्।
पारित कार्यतालिकाअनुसार आगामी असार र साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार अभियान सञ्चालन गरिनेछ।
तल्लो तहदेखि नै संगठनलाई मजबुत बनाउने लक्ष्यसहित भदौ १५ गतेभित्र वडा तहका अधिवेशनहरू सम्पन्न गर्ने निर्णय नेकपाले गरेको छ।
त्यसैगरी, भदौ १६ गतेदेखि मसान्तसम्म पालिका तहका अधिवेशनहरू हुनेछन् भने असोज मसान्तभित्र जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश तहका अधिवेशनहरू सम्पन्न गर्ने गरी कार्यसूची तय गरिएको छ।
मंसिरमा हुने महाधिवेशनमार्फत वैचारिक, राजनीतिक र सांगठनिक स्पष्टता कायम गर्ने पार्टीको योजना छ। प्रवक्ता ज्वालाका अनुसार नेकपाले यसपटक सबै तहका कमिटीहरूमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने नीति समेत लिएको छ।
महाधिवेशनका लागि आवश्यक दस्ताबेज, प्रतिवेदन र कार्यविधिहरू आगामी केन्द्रीय कार्यसमिति बैठकले तयार पार्ने विज्ञप्तिमा उल्लेख छ।
स्थानीय तहदेखि प्रदेशसम्मका सबै प्रक्रिया पूरा गरेपछि मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा भव्य रूपमा एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गरिने पार्टीले जनाएको छ।

प्रकाशित: १९ वैशाख २०८३ १५:१७ शनिबार





