५ माघ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यूनको गिरफ्तारीपछि प्रथम महिला दुब्लाइन्, मुस्किलले खान सक्छिन्

श्रीमान पक्राउ परेपछि दक्षिण कोरियाकी प्रथम महिला किम केओन-हीको स्वास्थ्य खराब भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। निलम्बित राष्ट्रपति युन सुक-योल पक्राउ परेपछि किमलाई राजधानी सियोलको हान्नम-डोंगस्थित राष्ट्रपति निवासमा एक्लै छाडिएको छ। बुधबार युनको गिरफ्तारीपछि यो खबर बाहिर आएको हो। 

सत्तारुढ दलका सदस्यहरूका अनुसार, किम मुस्किलले खान सक्छिन् र विभिन्न औषधि सेवन गरेर आफूलाई सम्हाल्न खोजिरहेकी छिन्। ‘उनी पूर्णतया दुब्लाएकी छिन्,’ एक अधिकारीले भने। सांसद क्वोन यंग-जिनले किमको अनुहारको चमक हराएर निराश देख्दा आफूलाई दुःख लागेको बताए।

यूनलाई हिरासतमा लिने पुर्जी रोक्न सत्तारुढ दलका तीस जना सांसद राष्ट्रपति निवासमा भेला भएका थिए। किमलाई गत वर्ष जुलाईमा स्टक हेरफेरमा संलग्न भएको आरोपमा छानबिन गरिएको थियो। यूनको हिरासत अघि, केही युट्युब भिडियोमा किम कुकुरसँग हिँडेको देख्न सकिन्थ्यो। 

विपक्षी पार्टीले किमलाई देश छोड्न प्रतिबन्ध लगाउन कानून मन्त्रालयसँग आग्रह गरेका छन्। युनले डिसेम्बर ३ मा ‘राज्य विरोधी तत्वहरू’को धम्कीलाई सम्बोधन गर्न ‘मार्शल ल’ घोषणा गरेका थिए, जुन विपक्षी सांसद र जनप्रदर्शनपछि केही घण्टामै फिर्ता भएको थियो। 

युनले महाभियोगको समयसीमा नजिकिँदै गर्दा अनुसन्धान प्रक्रियामा सोधपुछका क्रममा बोल्न मानिरहेका छैनन्। बुधबार उनको निवासमा छापा मार्दा पक्राउ पुर्जी जारी गरिएको थियो। पक्राउ पूर्जीमा युनलाई केवल ४८ घण्टाको लागि हिरासतमा राख्न अनुमति दिइएको थियो। अनुसन्धानकर्ताहरूले शुक्रबार उनको हिरासत बढाउन नयाँ पक्राउ पूर्जी माग्ने अपेक्षा गरिएको छ, जसले सम्भवतः उनलाई २० दिनको लागि हिरासतमा राख्न आदेश दिन सक्छ। यसले अभियोजनकर्ताहरूलाई उनीविरुद्ध अभियोग औपचारिक रूप दिन समय दिनेछ।

भ्रष्टाचार अनुसन्धान कार्यालयले युनमाथि विद्रोहको सम्भावित अभियोगमा अनुसन्धान गरिरहेको छ, र यदि अभियोग प्रमाणित भएमा उनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्छ।

प्रकाशित: ४ माघ २०८१ १९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App