७ माघ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुरक्षा चिन्ताका कारण सुनुवाइमा नजाने

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल सुरक्षा चिन्ताका कारण आफूविरुद्धको महाभियोग मुद्दाको पहिलो सुनुवाइमा उपस्थित नहुने उनका वकिलले बताएका छन्। संवैधानिक अदालतको सुनुवाइ मंगलबारका लागि तय भएको छ। 

गत महिना मार्शल लको अल्पकालीन घोषणाले देशलाई राजनीतिक अराजकतामा डुबाएपछि निलम्बन र महाभियोग लागेपछि युन राष्ट्रपति निवासमा एलिट सुरक्षा बलको सुरक्षामा बसेका छन्। उनले अभियोजक र अनुसन्धानकर्ताहरूलाई भेट्न पनि अस्वीकार गर्दै आएका छन्। उनको प्रेसिडेन्सियल गार्ड युनिटले यस महिनाको सुरुमा तनावपूर्ण, लामो गतिरोधपछि पक्राउ गर्ने प्रयासलाई विफल पारेको थियो। 

संवैधानिक अदालतले जनवरी १४ देखि फेब्रुअरी ४ सम्म पाँचवटा सुनुवाइको मिति तय गरेको छ। ती सुनुवाइमा उनी उपस्थित नहुँदा पनि सुनुवाइ अगाडि बढ्नेछ। वकिल युन कब-केउनले एएफपीलाई पठाएको विज्ञप्तिमा भनेका छन्, “सुरक्षा र सम्भावित घटनाहरूका बारेमा चिन्ता उत्पन्न भएको छ। तसर्थ राष्ट्रपति जनवरी १४ मा सुनुवाइमा उपस्थित हुन सक्नुहुन्न। सुरक्षा मुद्दाहरू समाधान भएपछि राष्ट्रपति कुनै पनि समयमा उपस्थित हुन तयार हुनुहुन्छ।” 

अदालतले उनको महाभियोग कायम राख्ने वा कार्यालयमा पुनःस्थापित गर्ने निर्णय गर्नेछ। उता, उनको असफल सैन्य शासन घोषणासँग सम्बन्धित विद्रोहको आरोपमा युनसँग सोधपुछ गर्न खोज्ने अनुसन्धानकर्ताहरूले अर्को गिरफ्तारी प्रयासको तयारी गरिरहेका छन्। 

उनका वकिलहरूले प्रारम्भिक सात दिने वारेन्ट र यो साता प्राप्त नयाँ वारेन्ट दुवै ‘गैरकानूनी’ भएको बारम्बार बताएका छन्। अनुसन्धानकर्ताहरूले नयाँ वारेन्टको अवधि गोप्य राखेका छन्। स्थानीय सञ्चारमाध्यमले यो अघिल्लो सात दिन भन्दा लामो रहेको जनाएका छन्। सङ्कट सुरु भएयता युनका पक्ष र विपक्षका प्रदर्शनकारीहरू दक्षिण कोरियाली राजधानीमा लगभग दैनिक जम्मा हुने गरेका छन्।

प्रकाशित: २९ पुस २०८१ ०८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App