जाडो छल्न विजुलागैरो हाँसहरू काठमाडौंको टौदहमा आइपुगेका छन्। विश्वका साना हाँस प्रजातिहरूमध्ये पर्ने यी हाँस आकर्षक रंगीन प्वाँख र फुर्तिलो उडानका लागि प्रख्यात छन्।
भाले विजुलागैरो हाँसको टाउको खैरो रंगको हुन्छ, आँखाको नजिक हरियो रेखा देखिन्छ, र शरीर खैरो रंगको हुन्छ। पोथी हाँसहरूको शरीर खैरोखैरो रंगको हुन्छ भने पखेटाको छेउमा हरियो झल्को देखिन्छ।
जाडोयाममा चिसो अत्यधिक हुने उत्तरी भूभागबाट यी हाँसहरू केही समयका लागि तातो ठाउँतिर बसाइँ सर्दछन्। प्रायः ठूलो बथानमा देखिने यी हाँसहरूको प्रजनन क्षेत्र उत्तर अमेरिका, युरोप, र केही एशियाली भूभागहरूमा फैलिएको छ।
यी हाँसले ताजा पानीका दलदल, पोखरी, र साना ताललाई आफ्नो बासस्थान बनाउँछन्। मुख्य रूपमा बीउ, जलीय बिरुवा, र स-साना कीराफट्यांग्रा खानमा निर्भर रहने यी हाँसहरूको उपस्थितिले टौदहको जैविक विविधतालाई थप आकर्षक बनाएको छ।
प्रकाशित: ७ माघ २०८१ २१:३५ सोमबार