२१ पुस २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साउदी अरबमा लागूऔषध तस्करी आरोपमा ६ इरानीलाई मृत्युदण्ड

साउदी अरबले लागूऔषध तस्करीको आरोपमा ६ इरानीलाई मृत्युदण्ड दिएको छ।

साउदी अरबको आधिकारिक समाचार एजेन्सी एसपीएले जारी गरेको विज्ञप्तिका अनुसार ती ६ जनालाई खाडीको तटीय शहर दमाममा "गुप्त रूपमा ह्यासिस भित्र्याएको" अभियोगमा मृत्युदण्ड दिइएको हो। तर, मृत्युदण्ड कहिले दिइयो भन्ने विषयमा विवरण खुलाइएको छैन।

यस घटनापछि इरानले साउदी राजदूतलाई तलबान गरेर अन्तर्राष्ट्रिय कानूनका "नियम र मान्यताहरूको उल्लंघन" गरेको भन्दै कडा विरोध जनाएको छ। इरानी विदेश मन्त्रालयले यो कदमलाई "अस्वीकार्य" भनेको छ।

एएफपीको तथ्यांकअनुसार, साउदी अरबले सन् २०२४ मा कम्तीमा ३३८ जनालाई मृत्युदण्ड दिएको छ। जुन सन् २०२३ को १७० रहेको तुलनामा तीव्र वृद्धि हो।

मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेशनलले साउदी अरबमा सन् १९९० को दशकदेखि मृत्युदण्डको तथ्यांक संकलन गर्दै आएको छ। उक्त तथ्यांकअनुसार यसअघि सन् २०२२ मा १९६ र सन् १९९५ मा १९२ जनालाई मृत्युदण्ड दिइएको थियो।

सन् २०२४ मा मृत्युदण्ड दिइएका ३३८ व्यक्तिमध्ये कम्तीमा ११७ लागूऔषध तस्करीमा दोषी ठहरिएका थिए।

साउदी अरबले दुई वर्षअघि लागूऔषध अपराधका लागि मृत्युदण्ड रोक्ने निर्णयलाई उल्ट्याएपछि यो संख्या तीव्र रूपमा बढेको हो। सन् २०२३ मा साउदी अरबले लागूऔषधविरुद्ध व्यापक अभियान चलाउँदै छापा मार्ने र पक्राउ गर्ने क्रम तीव्र पारेको थियो।

साउदी अरब हाल लागूऔषध "क्याप्टागोन" को प्रमुख बजार बनेको छ। यो लागूऔषध सिरियाको गृहयुद्धका क्रममा ठूलो मात्रामा उत्पादन गरिएको थियो।

सन् २०२४ मा मृत्युदण्ड दिइएकामध्ये १२९ जना विदेशी नागरिक थिए। जसमा २५ यमनी, २४ पाकिस्तानी, १७ इजिप्सियन, १६ सिरियाली, १४ नाइजेरियन, १३ जोर्डनियन, र ७ इथियोपियन रहेका थिए।

सन् २०२२ मार्चमा, साउदी अरबले "आतंकवादी अपराध" को आरोपमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिएको थियो।

सन् २०१६ मा साउदी अरबले शिया धर्मगुरु निमर अल-निमरलाई मृत्युदण्ड दिएपछि इरानका प्रदर्शनकारीहरूले तेहरान र मशहदस्थित साउदी कूटनीतिक कार्यालयमा आक्रमण गरेका थिए। यसपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध टुटेको थियो।

तर, सन् २०२३ को मार्चमा चीनको मध्यस्थतामा यी दुई देशले कूटनीतिक सम्बन्ध पुनःस्थापना गरेका थिए।

प्रकाशित: १८ पुस २०८१ १७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App