यमनका राष्ट्रपति रसद अल अलिमीले भारतीय नर्स निमिषा प्रियालाई दिइएको मृत्युदण्डको सजायलाई अनुमोदन गरेका छन्।
राष्ट्रपति अलिमीले जेलमा बन्द भारतीय नर्स निमिषालाई दिइएको मृत्युदण्डको सजायलाई अनुमोदन गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सरकारले यस प्रकरणमा हरसम्भव प्रयास गरिरहेको बताएका छन्।
केरलाकी निमिशामाथि सन् २०१७ मा यमनका नागरिक महदीको हत्या गरेको आरोप लागेको थियो। सन् २०१५ मा निमिषाले महदीसँग मिलेर यमनको राजधानी सानामा आफ्नो क्लिनिक सुरु गरेकी थिइन्।
महदीले निमिषाको राहदानी कब्जामा लिएर यातना दिएको आरोप छ। जुलाई २०१७ मा निमिषाले महदीलाई एनेस्थेटिक इन्जेक्सन (सुई) दिएकी थिइन्।
महदीलाई कुनै असर नभए पनि निमिषाले उनलाई ओभरडोज दिएको आरोप छ। जसकारण उनको मृत्यु भयो। निमिषालाई एक महिनाभित्र सजाय हुनेछ।
प्रकाशित: १७ पुस २०८१ ०७:४६ बुधबार