१३ पुस २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा १४ दिनभित्र फेरिए तीन राष्ट्रपति, सांसदहरुले समाते एकअर्काको कठालो

दक्षिण कोरियाको संसदमा शुक्रबार प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डुक सुलाईमाथि महाभियोग लगाइएको छ। उनलाई पदबाट हटाउन भएको महाभियोगको पक्षमा १९२ मत पर्‍यो, जुन आवश्यक १५१ मत भन्दा धेरै थियो। महाभियोगमा मतदानको बेला संसदमा निकै हंगामा समेत भयो। तनाव बढ्दै जाँदा सत्तापक्ष र विपक्षी सांसदहरुले एकअर्काको कठालो समातेका दृश्यहरु यतिबेला भाइरल हुँदैछन्।  

सत्तारुढ दलले मतदान बहिष्कार गरेपछि कार्यवाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्तावको विपक्षमा एक मत पनि परेन। अब अर्थमन्त्री चोई साङ मोकले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। देशको अर्थतन्त्रका लागि विनाशकारी भन्दै चोईले तीन डिसेम्बरमा सैन्य शासनको खुलेर विरोध गरेका थिए।

निलम्बनमा परेका राष्ट्रपति युन सुक येओलले तीन डिसेम्बरमा सैन्य शासन लगाएका थिए, तर ६ घण्टामा फिर्ता लिनुपरेको थियो। प्रतिपक्षले संसदमा सैन्य शासनलाई अवैधानिक घोषणा गर्दै युनमाथि महाभियोग लगाएर पदबाट हटाएका थिए। त्यसपछि हान डक–सूलाई १४ डिसेम्बरमा कार्यवाहक राष्ट्रपति बनाइयो, तर उनी यो पदमा मात्र १३ दिन रहन सके।

शुक्रबारको मतदानमा सभामुखले कार्यवाहक राष्ट्रपतिलाई हटाउन संसदको ५० प्रतिशत मत आवश्यक पर्ने बताएका थिए। विपक्षी दलको १९२ सिट हुँदा कार्यवाहक राष्ट्रपतिलाई हटाउन सहज भयो। संसदमा सत्तारुढ दलसँग १०८ सिट मात्रै छ। यसअघि राष्ट्रपति युनलाई हटाउन २ सय सिट आवश्यक हुँदा सत्तापक्षका केही सांसदले मतदान गरेका थिए।  

कार्यवाहक राष्ट्रपति हानले महाभियोग सफल भएपछि संसदको निर्णयको सम्मान गर्दै अदालतको फैसला पर्खने भनेका छन्। दक्षिण कोरियामा सैन्य शासन लगाएका युन सुक येओललाई महाभियोग लगाएपनि, उनलाई पूर्ण रूपमा हटाउन अदालतको फैसला आवश्यक छ। दक्षिण कोरियाको संवैधानिक अदालत सामान्यतया नौ सदस्यीय इजलासमा हुन्छ।  

कम्तिमा छ जना न्यायाधीशहरूले युनको महाभियोगको विपक्षमा फैसला सुनाउनुपर्छ। यदि उनीहरूमध्य एकजनाले मात्रै युनको पक्षमा फैसला गरे उनी पुनः राष्ट्रपति बन्न सक्छन्। यसै कारण विपक्षीले अदालतमा ३ रिक्त न्यायाधीश नियुक्त होस् भन्ने चाहेका थिए। तर कार्यवाहक राष्ट्रपति हानले त्यसो गर्न नमान्दा महाभियोगको सिकार बन्नुपर्‍यो। 

प्रकाशित: १३ पुस २०८१ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App