इजरायल र लेबनानको लडाकु समूह हिजबुल्लाहबीच बुधबार युद्धविराम भएको छ। अमेरिकी तथा फ्रान्सेली दबाब र सहजीकरणबीच सम्पन्न यो युद्धविरामले अब हिजबुल्लाह लेबनानको दक्षिणी भेगबाट पछि हट्नेछ भने इजरायली सेनाले पनि सो क्षेत्रमा बम आक्रमण रोक्नेछ।
हिज्बुल्लाह र इजरायली सेनाले छाडेको खाली ठाउँमा अब लेबनानको राष्ट्रिय सेनाले पहरेदारी गर्नेछ। यही ठाउँमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत कैयौं देशका सेनाको पनि उपस्थिति रहनेछ। सम्झौता त भएको छ तर यससँगै यो शान्ति सम्झौता कतिन्जेल जारी रहने हो भन्ने चासो सर्वत्र छ। किनभने इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले यो युद्धविराम तीन कारणले रोकिएको बताएका छन्।
पहिलो, इरानी खतराबाट बच्न नयाँ रणनीति आवश्यक परेकाले। दोस्रो, अविराम युद्धमा खटिएका सेनालाई अल्पकालीन आराम आवश्यक परेकाले र सैन्य भण्डार भर्नुपर्ने भएकाले। पछिल्लो समय सैन्य सामग्री बेलैमा युद्धक्षेत्रमा नपुर्याइएकाले इजरायली सेनाले फाइदा लिन सकिरहेको थिएन।
सेनालाई सुरक्षित राख्ने यो अत्यावश्यक परिरहेको थियो। तेस्रो, हमासलाई तितरबितर पार्न। नेतन्याहूले भनेजस्तै इजरायलले यसलाई आफ्नो भण्डार भर्न उपयोग गर्नेछ भने उता हिजबुल्लाहले पनि आफ्नो क्षीण शक्तिलाई सशक्त बनाउन अवश्य उपयोग गर्नेछ।
यसपटककोे र सन् २००६ को सम्झौतामा कुनै फरक छैन। इरानले पहिले कुनै प्रतिक्रिया नदिए पनि अहिले भने सम्झौताको स्वागत गरेको छ। इरानसँगै पश्चिम एसियाली अरब मुलुकहरूले पनि यस युद्धविरामलाई स्वागत गरेका छन्। कम्तीमा अबका दुई महिना यहाँ शान्ति बहाल हुने अपेक्षा अधिकांशको छ। यससँगै खतराका बाबजुद दक्षिणी लेबनानका बासिन्दाहरू आफ्नो घर फर्किएका छन्। यस्तै सँगै सीमा जोडिएको उत्तरी इजरायलका बासिन्दा पनि अब फर्कने बाटो खुलेको छ।
सन् १९८० को दशकमा स्थापना भएयता हिजबुल्लाहले नराम्रो क्षति बेहोरेको छ। इजरायली बमबारीमा लेबनानका करिब चार हजारको ज्यान गएको छ भने १२ लाख बेघरबार भएका छन्। सन् २०२३ को अक्टोबर ७ मा हिजबुल्लाहले इजरायलमा गरेको आक्रमणपछि फैलिएको यो युद्धअघि नै लेबनानको अवस्था दयनीय थियो। त्यसमाथि यो युद्धले त घुँडा नै टेकाइदिएको छ। इरानलाई पनि ठेगान लगाएको महसुस इजरायलले गरेको छ। अब हिजबुल्लाह र हमासबीचको सहकार्य केही समयका लागि रोकिने भई केही समय अवश्य शान्ति हुनेछ।
इजरायलका लागि यो युद्धविराम आफ्ना ६० हजारभन्दा बढी विस्थापितलाई घर फर्काउन उपयोग अवश्य गर्ने छ। यति हुँदाहुँदै पश्चिम एसियामा शान्ति कायम हुन भने गाह्रै छ। उसैगरी हिजबुल्लाहको डर कायमै हुनेछ। त्यसैले इजरायलले आफूलाई युद्धकै अवस्थामा जस्तो सतर्क रहनु बाध्यता छ। तर हिजबुल्लाहले अझै युद्धमोह राख्नु भनेको लेबनानलाई अझ कमजोर बनाउनु हो। जति कमजोर लेबनान हुन्छ, हिजबुल्लाह पनि एक हिसाबले कमजोर नै हुनेछ। द्वन्द्वका कारण स्थानीय इतर मुस्लिम र इसाई समुदायबाट अलगथलग भएको हिजबुल्लाहले आफूलाई जनताविरोधी नभएको देखाउनैका लागि पनि केही समय शान्ति चाहन्छ।
लेबनानमा लामो समयदेखि राजनीतिक वर्ग भ्रष्टाचारमा चुर्लुम्म डुबेका कारण हिजबुल्लाहले शिर ठाडो गर्ने अवसर पाएको थियो। त्यो गल्ती पुनः नदोहोर्याउन गम्भीर हुन आवश्यक छ। धुलीसात भएको मुलुकबाट आफूलाई उठाउन यो तप्काले निकै ठुलो मिहिनेत गर्नुपर्ने त छँदैछ साथमा नयाँ चुनाव गरी नयाँ राष्ट्रपति चयन पनि गर्नुपर्ने आवश्यकता छ। यसो गरे मात्र लेबनानले अन्तर्राष्ट्रिय आर्थिक सहयोग पाउनेछ र ध्वस्त भएको आर्थिक अवस्थालाई केही भए पनि सुधार्न सक्छ।
यो युद्धविराम स्वयं अमेरिकी कूटनीतिको पनि सफल प्रयोग मान्न सकिन्छ। अमेरिकी राष्ट्रपति जो बाइडेनको यो सबैभन्दा ठुलो उपलब्धिका रूपमा रहनेछ। लामो समयदेखि उनले यो युद्धविराम गराउने प्रयास गरे पनि असफल भएका थिए। यसैबीच ट्रम्प नयाँ राष्ट्रपति चयन भएपछि उनले छोटो अवधिमा नै युद्ध रोक्ने बताएलगत्तै बाइडेनमाथि एक किसिमको दबाब भने कायम थियो।
अब गाजा क्षेत्रमा इजरायलले के गर्छ, त्यो भने हेर्न बाँकी छ। साथै ट्रम्पले पश्चिम एसियाको यो ध्वंश रोक्न के–कस्ता उपाय लगाउलान्, त्यो हेर्न अझ रोचक हुनेछ। यद्यपि इजरायलले यस क्षेत्रमा गरेको चकचकीले भने लामो समय शान्ति बहाल हुने कुरामा शंका गर्ने पर्याप्त आधारहरू रहेको विश्लेषकहरूको आकलन छ।
प्रकाशित: १४ मंसिर २०८१ ०६:२९ शुक्रबार