८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वायनाड उप निर्वाचन: प्रियंका गान्धी फराकिलो मतान्तरले विजयी

भारतको वायनाड लोकसभा सिटमा भएको उप निर्वाचनमा कांग्रेस आईकी उम्मेदवार प्रियंका गान्धी फराकिलो मतान्तरसहित विजयी भएकी छन् । यहाँ यसअघि उनका दाइ राहुल गान्धी निर्वाचित भएका थिए । राहुल वायनाड र अमेठी दुई ठाउँबाट निर्वाचित भएपछि वायनाड छाडेर त्यहाँ बहिनी प्रियंकालाई उठाएका थिए ।

यस पटक भएको उप निर्वाचनमा प्रियंकाले छ लाख २२ हजार ३३८ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । प्रियंकाका निकटतम प्रतिद्वन्द्वी सिपिआईका सत्यन मोकेरीले दुई लाख ११ हजार ४०७ मत ल्याए । सत्तारूढ भारतीय जनता पार्टी(भाजपा) की नाभ्या हरिदास तेस्रो भइन् । उनले एक लाख ९ हजार ९३९ मत मात्रै पाएकी छन् । 

प्रियंकाले जित निकाल्दा आफ्ना दाजु राहुलको भन्दा फराकिलो मतान्तर कायम गर्न सफल भइन । राहुलले जित्दा मतान्तर साढे तीन लाखको हाराहारीमा थियो । 

यो सँगै प्रियंका लोकसभामा पहिलो पटक प्रवेश पाउने भएकी छन् । जहाँ प्रमुख विपक्षी दलको नेताका रूपमा उनका दाइ राहुल गान्धी पनि छन् । 

प्रियंका र राहुल भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी र सोनिया गान्धीका छोराछोरी हुन् । राजीव पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीका छोरा हुन् भने इन्दिराका बुबा पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु हुन् ।

प्रियंकाको लोकसभा प्रवेशपछि अब दुई दाजु बहिनीको जोडीले संसद्बाट नरेन्द्र मोदी सरकारलाई कठिन चुनौती पेस गर्ने अडकलबाजी भइरहेको छ ।    

प्रकाशित: ८ मंसिर २०८१ १८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App