२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायल र हिजबुल्लाहबीच युद्धविराम गर्ने प्रस्ताव पारित गर्न लेबनानी प्रधानमन्त्रीको आग्रह

लेबनानका प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गरेका छन्।

स्थानीय टेलिभिजनलाई शुक्रवार सम्बोधन गर्दै उनले युद्धविरामको एउटा अंशका रूपमा इजरायलसँगको सीमामा सेना तैनाथ गर्न आफ्नो सरकारको प्रतिबद्धतामा जोड दिँदै हिजबुल्लाह यस विषयमा सहमत भएको बताए।

लेबनानको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई ‘पूर्ण र तत्काल युद्धविराम’ को आह्वान गर्ने प्रस्ताव जारी गर्न अनुरोध गर्ने उनले बताए।

उनका अनुसार लेबनान सरकार सन् २००६ मा अपनाइएको र मुलुकको दक्षिणमा लेबनानी सेना र शान्तिसेना मात्र तैनाथ हुनुपर्ने आह्वानसहितको ‘प्रस्ताव १७०१ को पूर्ण कार्यान्वयन’ प्रति प्रतिबद्ध छ।

एउटा सरकारी स्रोतले हिजबुल्लाहले लेबनानी अधिकारीहरूलाई सेप्टेम्बर २७ मा इजरायलसँग युद्धविराम स्वीकार गरेको जानकारी दिएको थियो। उक्त दिन इजरायली आक्रमणमा यसका नेता हसन नसरल्लाहको मृत्यु भएको थियो।

यसअघि हिजबुल्लाहले गाजामा आफ्नो प्यालेस्टिनी सहयोगी हमाससँग पनि युद्धविराम भएमा मात्र युद्धविराम स्वीकार्ने बताएको थियो।

प्रधानमन्त्री मिकातीले संयुक्त राष्ट्र अन्तरिम बल लेबनान (युनिफिल) माथिको आक्रमणलाई पनि ‘अपराध’ भन्दै निन्दा गरे। लेबनानी सञ्चारमाध्यम र विदेश मन्त्रालयका अनुसार लगातार दुई दिन इजरायली बलहरूले शान्तिसैनिकहरूलाई लक्षित गरी आक्रमण गरेका थिए।

लेबनानी अधिकारीहरूका अनुसार एक वर्षको युद्धमा दुई हजार एक सयभन्दा बढी मानिसको मृत्यु र १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। रासस

प्रकाशित: २५ आश्विन २०८१ २०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App