अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि हत्या प्रयास भएको छ। आइतवार अमेरिकाको फ्लोरिडास्थित एक गोल्फ क्लबमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न गएका ट्रम्पमाथि गोली प्रहारको प्रयास भएको बताइएको छ।
अमेरिकी सुरक्षा एजेन्सी एफबीआईका अनुसार अहिले ट्रम्प सुरक्षित छन्। अधिकारीहरूका अनुसार स्थानीय समय अनुसार राति करिब २ बजे उक्त घटना भएको हो। घटनाबारे प्रहरीले अनुसन्धान भने सुरु गरिसकेको छ।
ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरका अनुसार नजिकैको झाडीमा भने एके ४७ राइफल फेला परेको र एकजना शंकास्पद व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार छन्। उनीमाथि यसअघि पेनसिलभेनियामा पनि गोली प्रहार भएको थियो।
यता, घटना पछि ट्रम्पले भने आफूले हार नमान्ने बताएका छन्। उनले आफ्ना समर्थकलाई इमेल लेख्दै भनेका छन्, ‘म सुरक्षित छु। ममाथि फेरि गोली प्रहारको प्रयास भएको छ। तर, म यस्ता घटनाले भने आत्मसमर्पण गर्दिन।’
प्रकाशित: ३१ भाद्र २०८१ ०७:०४ सोमबार