४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतबाट हसिनालाई फिर्ता गर्न बङ्गलादेशले आग्रह गर्ने, छलफलमा जुट्यो भारत

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि बङ्गलादेशले भारतलाई आग्रह गर्ने भएको छ।

बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद होसेनले शेख हसिनाविरुद्ध मुद्दा बढिरहेका बेला आफ्नो देशले पूर्वप्रधानमन्त्री हसिनालाई फिर्ता गर्न भारतसँग आग्रह गर्न सक्ने बताएका छन्। यसले भारत सरकारलाई अफ्ठ्यारोमा पार्नसक्ने उनले बताए।

ढाकामा रोयटर्स टिभीलाई दिएको विशेष अन्तर्वार्तामा होसेनले भने, ‘उहाँको विरूद्धमा धेरै मुद्दाहरू छन्। उहाँ भारतको राजधानी दिल्लीमा बस्दा प्रश्न उठ्न सक्छ। यदि गृह मन्त्रालय र कानून मन्त्रालयबाट अनुरोध आयो भने हामीले उहाँलाई बङ्गलादेश फर्काउन आग्रह गर्नुपर्ने हुनसक्छ र त्यसले भारत सरकारका लागि लज्जाजनक स्थिति सिर्जना गर्छ।’

उनले थपे, ‘भारत सरकारलाई यो थाहा छ र मलाई लाग्छ उनीहरूले यसलाई गम्भीर रूपमा लिनेछन्।’

बङ्गलादेशमा आन्दोलनमा उच्च सहभागिता देखिएपछि र यो सिधै प्रधानमन्त्रीको कार्यालयतर्फ लक्षित भएपछि हसिना गत अगष्ट ५ मा हेलिकप्टरमार्फत् भारत पुगेकी थिइन्।

ढाका ट्रिब्युनका अनुसार हसिनासहित २४ जनाविरुद्ध नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा मानव अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी दर्ता गरिएको छ।

बङ्गलादेश सरकारले गत साता हसीनाको राजनयिक र सरकारी पासपोर्ट रद्द गरिदिएको छ। जसका कारण उनी अब अन्य देश जान सक्ने सम्भावना लगभग सकिएको छ।

यता, भारतले भने बङ्गलादेशको सुपुर्दगीको बारेमा के गर्ने विषयमा छलफल सुरु गरेको छ। बीबीसीका अनुसार दिल्लीमा भारतका शीर्ष सरकारी अधिकारी र विश्लेषकहरू हसिनाको विषयमा छलफलमा जुटेका छन्।

जानकारहरूका अनुसार भारतसँग हसिनाको विषयमा ३ विकल्प छन्। जसमा पहिलो विकल्प भनेको हसिनाका लागि कुनै तेस्रो मुलुकमा शरणको सुनिश्चितता प्राप्त हुनु। दोस्रो विकल्प भनेको हसीनालाई राजनीतिक शरण दिएर तत्कालिन रुपमा त्यहि उनको बस्ने व्यवस्था मिलाउने र तेस्रो विकल्प भनेको केही समय पछि हसिनालाई बङ्गलादेशको स्थिति सामान्य बनेपछि फिर्ता पठाउने र राजनीतिक रुपमा उनलाई त्यका पुनः स्थापित गराउने। रासस

प्रकाशित: १६ भाद्र २०८१ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App