४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रदर्शन रोकिएपनि युद्धक्षेत्र जस्तै देखियो बंगलादेश, सरकार गठनमा भने अलमल

तस्बिर: बीबीसी

बंगलादेशमा हिंसात्मक प्रदर्शन शान्त भएपनि अधिकांश प्रमुख सहरहरु क्षतिग्रस्त बनेका छन्। प्रहरी चौकीहरु भग्नावशेषमा परिणत भएका छन् भने सहर भित्रका सडक, बजारहरु क्षतविक्षत देखिएका छन्।

प्रदर्शनकारीले ढाका वरपरका करिब १० वटा प्रहरी चौकीमा आगजनी गरेका छन्। ती सबै जलेर नष्ट भएको बीबीसीले उल्लेख गरेको छ। प्रदर्शनकारीले चौकीभित्रै प्रवेश गरेर प्रहरीमाथि आक्रमण र चौकीमा आगजनी गरेकाले मंगलबार पनि ढाकाका अधिकांश चौकीमा प्रहरी नदेखिएको समाचारमा उल्लेख छ।

प्रहरी चौकी परिसरमा जलेको अवस्थामा कार र फर्निचरहरु यत्रतत्र देख्न सकिन्छन्। बीबीसीका अनुसार, चौकी आसपास केही शवहरु देखिए पनि संकलन र यकिन तथ्यांक भने बाहिर ल्याउन सकिएको छैन। अझै पनि हिंसात्मक आक्रमण हुने डरले प्रहरी चौकीसम्म पुग्न सकेका छैनन्। 

पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि प्रदर्शनकारीले सोमबारमात्रै उनको निवासमा छिरेर तोडफोड गर्नुका साथै सामानहरु समेत लगेका थिए। गृहमन्त्रीको निवासमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए भने हसिनाको बुवाको शालिकसमेत तोडफोड गरेका थिए ।  

भारतमा शरण लिइरहेकी शेख हसिना कहाँ जान सक्छिन्  

बंगलादेशबाट भागेर भारतमा शरण लिइरहेकी पूर्वप्रधानमन्त्री हसिना कहाँ जान्छिन् भन्ने अझै यकिन हुन सकेको छैन। सोमबार देश छाड्दै गर्दा बेलायतमा शरण लिने चर्चा चलेको थियो, तर २४ घण्टा हुँदा पनि उनी भारतमै शरण लिइरहेकी छन्। 

बंगलादेश वायुसेनासँग सम्बन्धित विमान भारतीय वायुसेनाबाट उडेपनि हसिना भने नरहेको समाचारमा उल्लेख छ। नरेन्द्र मोदी सरकारले हसिना भारतमै बस्ने नबस्ने बारे केही कुरा बताएको छैन। उनी बेलायत जाने समाचारसमेत पुष्टि हुन सकेको छैन। हसिनाकी भतिजी टुलिप सिद्दिकी अहिले बेलायतको लेबर पार्टीकी सांसद् छन् ।  

बंगलादेशमा हसिनाको विकल्प को ?  

बंगलादेशको सेना र विपक्षी दलहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको विकल्पमा कसैको नाम अघि सारेका छैनन्। यद्यपि पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाई आदेशले उनको नेतृत्वमा अन्तरिम सरकार गठन हुने सम्भावनाहरु देखिन थालेका छन्।  

उनी प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी०की प्रमुख हुन्। भ्रष्टाचार मुद्दामा उनलाई हसिना सरकारले जेल सजाय सुनाएको थियो। यद्यपी बीएनपीले मंगलबार पत्रकार सम्मेलन गरेर विद्यार्थी प्रदर्शनकारीको आन्दोलनलाई पूर्ण समर्थन रहेको बताउँदै आगामी दिनमा शान्ति कायम गर्न अपिल गरेको थियो।

प्रकाशित: २२ श्रावण २०८१ १३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App