२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाइडेन बहिर्गमन र कमला आगमनको अन्तर्य के?

अमेरिकी राष्ट्रपति निर्वाचन

तस्बिर: गेटी इमेजेज

चुनाव हुन चार महिना मात्र बाँकी रहँदा जो बाइडेनले अमेरिकाको राष्ट्रपति निर्वाचनको दौडबाट बाहिरिने निर्णय गरेका छन्। उम्मेदवारीबाट पछाडि हट्न उनीमाथि लगातार दबाब थियो।

वर्तमान राष्ट्रपति बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारीका लागि समर्थन गरेका छन्। बाइडेनले चार वर्षअघि कमलालाई उपराष्ट्रपति पदमा छान्नु नै आफ्नो उत्तम निर्णय भएको बताए। बाइडेनको समर्थनले कमलाको राष्ट्रपति पदको उम्मेदवार बन्ने सम्भावना बलियो भएको छ। अधिकांश डेमोक्रेटिक पार्टीका प्रतिनिधिले कमलालाई समर्थन गर्न सक्ने देखिएको छ।

कमलाले बाइडेनको समर्थनबाट आफू सम्मानित भएको र जित्न सक्दो प्रयास गर्ने बताइन्। डेमोक्रेटिक पार्टीको महाधिवेशन आगामी एक महिनाभित्र हँुदैछ। यस्तो अवस्थामा डेमोक्र्याटहरू कुनै पनि प्रकारको अनिश्चितताबाट बच्न चाहन्छन्। विश्लेषकका अनुसार यसो गर्नुका राजनीतिक र व्यावहारिक कारणहरू छन्।

बाइडेनपछि ह्यारिस दोस्रो संवैधानिक पदमा छन्। राष्ट्रपति पदको उम्मेदवारको टिकट चाहने पहिलो अश्वेत महिलालाई समर्थन नगर्नु डेमोक्रेटिक पार्टीका लागि घातक हुन सक्छ। यसैगरी चुनाव लड्न भनेर उठेको १० करोड अमेरिकी डलर कमलाले चुनाव प्रचारका लागि प्रयोग गर्न सक्नेछिन्।

पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनलगायत अरू दर्जनौं सांसद र गभर्नरले कमलालाई समर्थन गरेका छन्। यससँगै उनी पार्टीको उम्मेदवार बन्ने स्पर्धामा सबैभन्दा अगाडि छिन्। तर उनको मनोनयन निश्चित भइसकेको छैन।

जोखिमहरू केके छन्?

कमलाका लागि चुनावी प्रतिस्पर्धामा अगाडि बढ्न केही जोखिम छन्। पछिल्ला जनमत सर्वेक्षणअनुसार कमलाको अनुमोदन रेटिङ (अप्रुभल रेटिङ्स) बाइडेनको जत्तिकै कम रहेको देखिन्छ।

अर्का प्रत्यासी डोनाल्ड ट्रम्पविरुद्धको अनुमोदन रेटिङमा पनि कमलाको प्रदर्शन बाइडेनको जस्तै छ। दोस्रो कुरा के हो भने उपराष्ट्रपति पदमा कमलाको कार्यकाल कठिनाइपूर्ण थियो। प्रशासन सम्हालेलगत्तै उनलाई मेक्सिकोबाट बढ्दो अवैध आप्रवासीको संकटसँग जुध्ने जिम्मेवारी दिइएको थियो। यो विषयमा लिइएका निर्णयका कारण कमलाले आलोचनाको सामना गर्नुपरेको थियो। गर्भपतनसम्बन्धी अधिकारको मामिलामा ह्वाइट हाउस प्रशासनमा पनि उनी प्रमुख व्यक्ति थिइन्।

यो मुद्दामा भने कमलाले प्रभावकारी भूमिका निर्वाह गरेकी थिइन्। तर सुरुआती दिनमा बनेको नकारात्मक छवि सुधार्न उनलाई कठिनाइ हुने देखिन्छ। सीमा कार्यमा असफल भएका कारण महिनौंसम्म ह्यारिसलाई ‘बोर्डर जार’को संज्ञा दिइएको थियो। यसैगरी सबैभन्दा महŒवपूर्ण कुरा के हो भने ह्यारिसले यसअघि नै अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवारी दिने प्रयास गरिसकेकी थिइन्।

सन् २०२० मा यो प्रयासमा उनी नराम्ररी असफल भएकी थिइन्। ५९ वर्षीय ह्यारिस राष्ट्रपतिमा निर्वाचित भए अमेरिकाको पहिलो महिला राष्ट्रपतिका रूपमा उनले इतिहास बनाउनेछिन्। यसैगरी उनी पहिलो एसियाली–अमेरिकी र ओबामापछि दोस्रो अश्वेत राष्ट्रपति पनि बन्नेछिन्। उनले यसअघि नै पहिलो महिला उपराष्ट्रपतिका रूपमा कीर्तिमान कायम गरिसकेकी छन्।

प्रकाशित: ८ श्रावण २०८१ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App