१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निष्क्रिय व्यक्तिका कारण ३९ अर्ब पाउन्ड क्षति

यस्तो पनि

आर्थिक रूपमा निष्क्रिय व्यक्ति परिवार, समाज र देशकै लागि भार हुन्छ। यतिबेला बेलायतमा त्यस्ता व्यक्तिको संख्या बढेर करिब ९० लाख पुगेको एउटा तथ्यांकले देखाएको छ। १६ वर्षदेखि ६४ वर्ष उमेर समूहको एउटा ठूलो संख्या कुनै कामधाम नगरी बसिरहेको भन्दै बेलायतको अफिस फर नेसनल स्टाटिस्टिक्सले चिन्ता जनाएको हो।

खासगरी ज्यादै उत्पादक उमेर समूहमा निष्क्रिय व्यक्तिहरूको संख्या २८ लाख पुगेको विभागले जनाएको छ। नौ वर्षअघि त्यस्ता निष्क्रिय व्यक्तिको संख्या जम्मा एक लाख ३२ हजार मात्र थियो। त्यो बेला सबै निष्क्रिय व्यक्तिहरूको संख्या जोड्दा पनि मुस्किलले नौ लाख ४० हजार थिए।

यतिबेला भने अधिकंश बेलायतीहरूले आफूलाई लामो अवधिको बिरामी महसुस गरेका कारण उनीहरू काममा जान नसकिरहेको र खासगरी अधिकांश निष्क्रिय व्यक्तिहरू मानसिक रूपमा कमजोर महसुस गर्ने गरेको हालै नेसनल हेल्थ सर्भिसले जनाएको छ।

एकातिर निष्क्रिय व्यक्तिहरूको संख्या बढ्दै जानु, उता बजारमा कामदारको अभाव चुलिनुले बेलायतमा ठूलो खाडल जन्मिरहेको तथ्यांक विभागले जनाएको छ। पछिल्लो समय चुनाव नजिकिदै जाँदा ‘अल्छी’हरूलाई काममा फर्काउने आफ्नो योजना रहेको लेबर र कन्जर्भेटिभ पार्टीले आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन्।

यस्ता ‘अल्छी’का कारण बेलायती अर्थतन्त्रमा वार्षिक ३९ अर्ब पाउन्ड क्षति भइरहेको बताइन्छ। उसो भए यस्ता मानिसहरूको जीवन कसरी चलिरहेको छ त ? द टाइम्स अखबारका अनुसार, त्यस्ता ‘बिरामी’हरूले अक्षमताको प्रमाणपत्र लिन्छन्। मासिक रूपमा अक्षमता भत्ता पाएपछि एउटा ज्यान मज्जाले पालिन्छ। त्यसैले पनि अधिकांश मानिसहरू काम गर्न रुचाउँदैनन्।

एकातिर ज्यादै आवश्यक पर्ने यस्तो सहयोग कटौती गर्न पनि मिल्दैन, अर्कोतर्फ यसको व्यापक दुरूपयोग पनि उत्तिकै छ। यस्तोमा घरभित्र निराश जीवन गुजारिरहेका पुस्तालाई कामसम्म डोर्‍याउने नीति, सहयोगी भूमिका र उत्साह आवश्यक देखिएको एनएचएसको भनाइ छ।

प्रकाशित: ४ असार २०८१ ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App