२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१६ औँ प्रधानमन्त्री बन्दै मोदी, प्रधानमन्त्री दाहाललाई पनि शपथ समारोहमा निम्तो

भारतमा आगामी ५ वर्षका लागि नयाँ सरकार गठनको तयारी सुरु भएको छ। पछिल्लो १० वर्षदेखि सत्ता सम्हालिरहेका भारतीय जनता पार्टीका नेता एवं वर्तमान कामचलाउ प्रधानमन्त्री नरेन्द्र मोदीले नै आगामी ५ वर्ष सत्ता सम्हाल्ने तय छ।

विभिन्न ७ चरणमा गरी सम्पन्न भएको १८ औँ लोकसभा निर्वाचनबाट भाजपा नेतृत्त्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडिएले बहुमत हासिल गरेको छ। र, सोहि आधारमा नयाँ सरकार गठन हुनेछ।

मोदी भारतका दोस्रो प्रधानमन्त्री हुनेछन् जसले लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बनेर सत्ता सम्हाल्ने छन्। यसअघि जवाहर लाल नेहरु भारतको लगातार तेस्रो पटक प्रधानमन्त्री बनेका थिए।

नयाँ सरकार गठनका लागि मोदीले बाटो खुलाउँदै बुधवार प्रधानमन्त्रीको पदबाट राजीनामा दिइसकेका छन्। अब उनले देशको १६ औँ प्रधानमन्त्रीको रुपमा ८ जुनका दिन भव्य समारोहका बीच पदभार सम्हाल्दै शपथ ग्रहण गर्नेछन्। जसका लागि तयारीलाई तीव्रता दिइएको छ।

नयाँ सरकार गठनका लागि मोदीले बिहारका मुख्यमन्त्री नीतिश कुमार र एनडीए छोडिसकेका आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्र बाबु नायडूसहितको बैठक गर्दै सहमति जुटाइसकेका छन्। 

गठबन्धन सरकार गठनका लागि पहल थालिसकेका मोदीले ७ जुनमा एनडीएको बैठक बस्ने तयारी गरेका छन्। ७ जुनको बैठकले मोदीलाई एनडीएको संसदीय दलको नेता चुनिने छ। त्यसपछि उनले राष्ट्रपति समक्ष सरकार बनाउने दाबी पेश गर्नेछन्। त्यस पछि ८ जुनका दिन उनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरिएको छ।

प्रधानमन्त्रीको शपथ समारोहका लागि विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख र प्रधानमन्त्रीहरूलाई निम्तो दिइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

जसमा भुटानका राजा जिग्मे क्षेसर नामगेल वाङ्चुक, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र मोरिशसका प्रधानमन्त्री प्रविन्द जुगनौथ लगायतलाई निमन्त्रणा पठाइएको छ।

प्रकाशित: २४ जेष्ठ २०८१ ०९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App