९ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा युद्धविराम गर्ने विषयमा भोलि वार्ता हुने

इजरायल र हमासबीच विश्वासको वातावरण निर्माण गर्ने उद्देश्यले पुनः वार्ता हुन लागेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक सङ्केत गरेसँगै वार्ताको वातावरण बनेको इजिप्टको एक सञ्चारमाध्यम अल–काहेराले जनाएको छ।

उक्त अखबारले इजिप्टको सुरक्षा स्रोतलाई उद्धृत गर्दै इजिप्टको राजधानी कायरोमा सोमवार वार्ता हुन लागेको बताएको छ।

इजिप्ट, कतार र इजरायलको मुख्य सहयोगी संयुक्तराज्य अमेरिकाले यसअघिका बैठकको पनि मध्यस्थता गरेका थिए तर ती वार्तामा खासै प्रगति हुन सकेको थिएन।

यसअघिका वार्तामा रमादान अघि नै युद्धविराम गर्ने प्रयास गरिए पनि दुबै पक्षबीचको गतिरोध अन्त्य हुन नसके पछि वार्ता हुन सकेको थिएन।

गत शुक्रवार नेतान्याहुले दोहा र कायरोमा नयाँ चरणको युद्धविराम वार्ता गर्नेगरी सहमति जनाएपछि सोमवारबाट पुनः वार्ता हुन लागेको हो।

प्रधानमन्त्री नेतान्याहुले इजरायली गुप्तचर निकाय (मोसाद) का प्रमुख डेभिड बार्नीलाई वार्ताका बारेमा बताइसक्नु भएको जनाएको छ। तर, बार्नी स्वयं यी वार्तामा सहभागी हुने वा नहुने बारेमा केही बताइएको छैन।

गाजामा बन्धक बनाइएका परिवारका सदस्यले इजरायलको ठूलो शहरको मुख्य राजमार्गमा विरोध प्रदर्शन गरेपछि सरकारले पुनः वार्ताको पहल थालेको अनुमान गरिएको छ। प्रदर्शनकारीले बन्धक छुटाउन र गाजामा इजरायलले गरिरहेको युद्धप्रति विरोध जनाएका थिए।

हमास विद्रोहीले अक्टोबर ७ का दिन इजरायली भूमिमा प्रवेश गरी २५० जनालाई बन्धक बनाएका थिए जसका कारण इजरायल र हमासबीच भिषण युद्ध जारी छ। इजरायलको अनुमानमा १३० जना अझै पनि हमासको नियन्त्रणमा रहेका र ३३ जना मारिएका छन्।

युद्धविरामको एक प्रमुख शर्त भनेको गाजामा बन्धक बनाइएका इजरायलीलाई मुक्त गर्ने र इजरायलको जेलमा रहेका प्यालेस्टिनीलाई छाड्ने रहेको छ।

गाजा युद्धका कारण इजरायलले गरेको सैनिक कारबाहीमा कम्तीमा ३२ हजार ७०५ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ। मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेका छन्। रासस

प्रकाशित: १८ चैत्र २०८० १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App