६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कीर्तिमानका लागि कीर्तिमानी खर्च

यस्ताे पनि!

साउदी अरब पछिल्लो समय धेरै कीर्तिमान बनाउने मुलुकमा पर्छ। उसले लामो एर्कोडियन वादन (५१ घण्टा ४३ मिनेट ४० सेकेन्ड) देखि मुलेट शैलीको बाटिएको कपाल (१७२.७२ सेमी) सम्मको कीर्तिमान आफ्नै पोल्टामा पारेको छ।

यस्ता कीर्तिमानका लागि भने साउदी अरबले कीर्तिमानी पैसा खन्याइरहेको छ। पत्रकार ज्याक माल्भर्नका अनुसार पछिल्ला केही वर्षयता साउदी अरबले मुलुकको छवि उजिल्याउन, अतिवादी धर्मान्ध मुलुकभन्दा उदारवादी देखाउन र संसारभरका पर्यटक भित्र्याउन ठूलो कसरत गरिरहेको छ। यसै साता मात्र गिनिजले १० नयाँ कीर्तिमान प्रदान गर्‍यो।

यसमा मानव अधिकारवादी समूहले पनि बेखुसी प्रकट गरेका छन्। त्यहाँ दिइने मृत्युदण्ड र अन्य मानव अधिकारका मुद्दामा केही संस्थाले लामो समयदेखि असन्तुष्टि पोखिरहेका छन्।

पछिल्लो समय बनाइएका कीर्तिमानहरूमा ‘संसारकै लामो खानेपानी टंकी’, संसारकै ठूलो दन्त अस्पताल लगायतका कीर्तिमान छन्। सन् २०१९ यता यस्ता कीर्तिमानको संख्या बढेको हो। सन् २०१९ पहिले जम्मा ५४ वटा कीर्तिमान थिए भने त्यसयता १६० वटा कीर्तिमान छन्।

 गत वर्ष मात्र ५६ वटा कीर्तिमान थपिएको थियो। साउदी अरेबियाको खातामा हालसम्म २२३ वटा विश्वकीर्तिमान रेकर्ड छन्। तीमध्ये १३५ कीर्तिमान भने परामर्शदाताहरू राखेर तिनलाई ठूलो रकम दिई बनाइएका कीर्तिमान हुन्।

यस्ता परामर्शदाताहरूले विभिन्न कीर्तिमानहरू अध्ययन गरी तिनका बीचबाट नयाँ कीर्तिमान खोज्ने गरिन्छ र त्यसका लागि समूह तयार पारी ठूलो राशि खर्च गरेर कीर्तिमान बनाइन्छ।

सन् २०२२ मा मात्र गिनिज बुक स्वयंले गरेको परामर्शदाताबाट १२ करोड ३७ लाख पाउन्ड कमाएको थियो। पुस्तक बिक्रीबाट भने १२ करोड ३२ लाख पाउन्ड उठाएको थियो। गिनिजका कन्सल्टेन्टहरू ७४ जना छन् भने पुस्तक प्रकाशनमा जम्मा १७ कर्मचारी छन्।

‘देशभित्रका गलत गतिविधिबाट कुख्याति कमाएको मुलुकको प्रख्याति बढाउने काममा गिनिज कम्पनीले कमाउने बाटो बनाउनु दुःखको कुरा हो,’ गैरनाफामूलक संस्था रिप्राइभका जाकी सराफ भन्छन्, ‘उसले हालै खेलकुदमा समेत ३०० मिलियन पाउण्ड खर्चेर आफ्नो नाउँ उजिल्याउन खोजेको छ।’

उता गिनिज बुक कम्पनीले भने ब्रान्डलाई नै क्षति पुग्ने गरी केही नराम्रो भएको अवस्थामा त्यस्ता कीर्तिमान भंग गरिने सम्भावना रहेको द टाइम्स पत्रिकालाई प्रतिक्रिया दिएको छ।प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १३ फाल्गुन २०८० ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App