८ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्धविराम सकिएसँगै इजराइलद्वारा गाजामा पुनः सैन्य कारबाही सुरु

इजराइली सेनाले गाजामा आफूले पुनः हमला सुरु गरेको बताएको छ। इजराइल र हमासबीच युद्धविराम समाप्त भएको र त्यसलाई बढाउनका लागि कुनै सम्झौता नभएपछि गाजा सहरमा हवाई हमला र तोप प्रहार गरिएको इजराइली सेनाले जनाएको छ।

'हमासले जारी विरामको उल्लङ्घन गरेको छ, यसका साथै उसले इजरायली क्षेत्रतर्फ गोली हानेको छ', इजराइली सेनाले भनेको छ, 'आइडिएफ (इजराइली सुरक्षा बल) ले गाजापट्टीमा हमास लडाकू समूहविरुद्ध पुनः लडाइँ सुरु गरेको छ।'

उक्त घोषणा गाजाबाट प्रहार गरिएको एउटा रकेटलाई रोकेको बताएको केही मिनेटपछि आएको हो। सो रकेट आक्रमण युद्धविरामको पहिलो दिन केही मिनेटमा क्षेप्यास्त्र प्रहार गरेपछिको उक्त क्षेत्रमा पहिलो थियो।

गाजाभित्र रहेका एकजना पत्रकारका अनुसार इजराइली लडाकू विमानहरूले धेरै हमला गरेका छन् र गाजा सहरमा तोप प्रहार भएको छ। युद्धको पुनः सुरुआतले सात दिने युद्धविरामको विस्तारको अपेक्षाहरूलाई धरासायी बनाएको छ। सम्झौताअन्तर्गत प्यालेस्टिनी बन्दीको रिहाइको बदलामा हमासबाट दर्जनौँ बन्धकलाई रिहा गरिएको थियो। युद्धविरामले क्षतिग्रस्त गाजापट्टीमा थप सहयोगका लागि अनुमतिसमेत दिएको छ। 

बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजराइली र प्यालेस्टिनी अधिकारीहरूसँग भेटेर शत्रुता रोक्ने क्रमलाई बढाउन आह्वान गरेका थिए। साथै उनले युद्धको कुनै पनि सुरुआतले प्यालेस्टिनी नागरिकको रक्षा हुनुपर्ने चेतावनी दिए। 

युद्धविरामले अक्टोबर ७ देखि सुरु भएको युद्धलाई रोकेको थियो। हमासका लडाकूहरू गाजाको सैन्यकृत सीमा तोडेर इजराइलमा पसेपछि युद्ध सुरु भएको थियो। इजराइली अधिकारीहरूका अनुसार अचानक भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सयको मृत्यु भएको थियो भने हमास लडाकूहरूले करिब दुई सय ४० मानिसलाई अपहरण गरेका थिए। 

जवाफमा इजराइलले हमासलाई निमिट्यान्न पार्ने वाचा गर्दै गाजामा हवाई र स्थल आक्रमण सुरु गर्यो। हमास सरकारका अनुसार इजराइली हमलामा अधिकांश सर्वसाधारणसहित १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

कतारको मध्यस्थतामा भएको युद्धविरामका क्रममा दुई सय ४० प्यालेस्टिनी बन्दीहरूको बदलामा ८० इजराइली बन्धकलाई मुक्त गरिएको थियो। इजराइलमा बसोबास गर्ने २० भन्दा धेरै थाईलाई सम्झौताको दायराभन्दा बाहिर रहेर मुक्त गरिएको थियो। दुई महिलालाई मुक्त गरिएको केही घन्टापछि रातारात थप छ इजराइलीलाई रिहा गरिएको थियो। ती इजराइलीसँग दोहोरो राष्ट्रियता थियो।

यसबाट बिहीबार रिहा हुने कूल मानिसको सङ्ख्या आठ भएको छ। यो युद्धविराम सम्झौताअन्तर्गत हमासले रिहा गर्नका लागि आवश्यक प्रतिदिन १० बन्धकभन्दा कम हो। हमासको एक निकट स्रोतका अनुसार उसले सातौँ खेपको हिस्साका रूपमा बुधबार रिहा गरिएका दुई रुसी–इजराइली महिलालाई गणना गरेको छ। रासस

प्रकाशित: १५ मंसिर २०८० ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App