२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जब अस्पताल नै ‘मृत्यु क्षेत्र’ बन्यो!

गाजास्थित अल-सिफा अस्पतालमा इजरायली सैनिक।

विश्व स्वास्थ्य संगठनले गाजा सहरस्थित अल-सिफा अस्पताल मृत्यु क्षेत्र ‘डेथ जोन’ बनेको बताएको छ। संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको अनुगमन टोलीले शनिबार गरेको स्थलगत भ्रमणपछि संगठनले यसो भनेको हो।

इजरायली सैनिकले अल-सिफा अस्पतालमा कब्जा जमाएर खाली गर्न निर्देशन दिएपछि गरिएको अनुमगनका क्रममा अस्पतालमा गोली चलेको, गोलाबारी भएको र प्रवेशद्वारमा सामूहिक चिहान बनाएको पाइएको थियो।

टोलीलाई चिहानमा ८० जना गाडिएको बताइएको थियो। इजरायली सैनिकले अस्पताल खाली गर्न भनेपछि सघन उपचार गराइरहेका ३०० बिरामी मात्र त्यहाँ रहेको जनाइएको छ। संगठनले युद्धविरामका लागि अनुरोध गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग तत्काल युद्धविराम नहुने तर अपहरणमा परेकालाई रिहा गर्ने सर्तमा अस्थायी युद्धविराम हुन सक्ने संकेत गरेका छन्।

इजरायली सैनिकको उर्दीपछि शनिबार केही बिरामीसहित सयौंले अल–सिफा अस्पताल छाडेका छन्। अस्पतालमा रहेका बिबिसी पत्रकारका अनुसार हलचल गर्न नसक्ने केही बिरामी र सीमित संख्यामा चिकित्सक मात्र त्यहाँ छन्।

इजरायलको सुरक्षा बलले अस्पताल प्रशासनलाई अस्पताल खाली गराउन अनुरोध गरिएको तर जबरजस्ती नगरेको जनाएको छ। सुरक्षा बलले अस्पतालमा राइफललगायत हतियार पाइएको दाबी गरेको छ।

हमासका स्वास्थ्य अधिकारीका अनुसार उत्तरी गाजाको जवालियामा शनिबार भएका दुई विस्फोटमा ८० जनाको मृत्यु भएको छ।

इजरायलमा अक्टोबर ७ मा हमासले आक्रमण गरेको थियो। त्यसको बदला हमाससँग लिन इजरायले गाजामा सैनिक कारबाही गर्दै आएको छ।

हमासका अनुसार इजरायली आक्रमणबाट गाजामा १२ हजार ३ सयजनाको मृत्यु भैसकेकोछ। यसैगगरी विस्फोटबाट भत्केका घरले किचिएर १२ सयभन्दा बढीको मृत्यु भएको हमासले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०८० ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App