१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीको वायु प्रदूषणले पार गर्‍यो खतराको स्तर

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको स्तरले खतराको स्तर पार गरेपछि सर्वसाधारणलाई समस्या हुन थालेको छ। भारतको सिस्टम अफ एयर क्वालिटी फोरकास्टिङ एण्ड रिसर्च (सफर–इन्डिया) का अनुसार दिल्लीको गुणस्तर पछिल्लो ४८ घन्टामा ४९९ एक्यूआई मापन गरिएको छ।

बढ्दो वायु प्रदूषणले मानिसहरूमा श्वासप्रश्वास, आँखा पोल्ने, घाँटी खसखसाउने जस्ता समस्याहरू देखिन थालेको छ। जसले गर्दा अस्पतालमा पनि बिरामीको चाप बढेको छ।

यसैबची, प्रदूषणको गुणस्तर बिग्रिदै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आकस्मिक बैठक बोलाएका छन्। दिल्लीका वातावरण मन्त्रीसहित अन्य पदाधिकारीहरूसँग छलफलका लागि उनले बैठक बोलाएका हुन्।

प्रदूषणको गुणस्तर बिग्रिएपछि अहिले दिल्लीका प्राथमिक विद्यालयहरू तिहारसम्म बन्द गरिएका छन् भने ६ देखि १२ कक्षाका विद्यार्थीलाई सकेसम्म अनलाइन कक्षा सञ्चालन हुँदैछ।

यसैगरी, सरकारी तथा निजी कार्यालयका ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक्यूआई १०० सम्म सहन सकिन्छ। तर, त्योभन्दा धेरै भएको खण्डमा त्यो राम्रो भने होइन। दिल्लीको प्रदूषणको स्तरले हरेक वर्ष खतराको स्तर पार गर्दै आएको छ। तर, प्रदूषणको स्तरलाई नियन्त्रण गर्न खासै ठोस रणनीति अपनाइएको देखिँदैछ।  

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषणकै कारण हरेक वर्ष विश्वभर झन्डै ७० लाख समयभन्दा अघि जन्मेका शिशुहरूको मृत्यु हुने गरेको छ। वायु प्रदूषणका कारण दिल्लीमा हरेक वर्ष १० देखि ३० हजार मानिसको मृत्यु गरेको दिल्ली सरकारको तथ्याङ्क छ। गत वर्ष मात्रै प्रदूषणका कारण दिल्लीमा २० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।

प्रकाशित: २२ कार्तिक २०८० ०२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App