९ पुस २०८२ बुधबार
image/svg+xml
विचार

झापा, एमाले र प्रधानमन्त्री

कुरो २०३० सालतिर, झापा जिल्लाको। मेरो पाँच वर्षे बाल्यकालको सम्झना। मेरा बुबा झापाको कलवलगुढीस्थित प्रशिक्षण केन्द्रका सरकारी कर्मचारी। मैले करिब ६ महिनाजति त्यस प्रशिक्षण केन्द्रको कर्मचारी आवासमा बिताएको झिनो सम्झना बाँकी छ, मनमस्तिष्कमा। जंगली हात्ती बस्ती पसेर उत्पात मच्चाएको कुरादेखि नजिकैको सामुदायिक वनभित्र रहेको आश्रममा खेल्न गएको अनि बुबा आमासित दार्जिलिङ घुम्दाका केही रमाइला क्षण कहिलेकाहीं सम्झने गर्छु।

हुर्किंदै आएपछि सोचविचार अनि चेत पनि समयानुकूल विकास हुँदै आउने रहेछ मानिसमा, त्यस्तै भयो। पछि पो थाहा भयो, झापा त नेपाली कम्युनिस्टहरूको गढ रहेछ भन्ने। मेरो बालमानसिकताले त्यसको मेसो नै पाएन। पाउने कुरो पनि भएन सानैमा, खेल्ने कुद्ने समयमा। केही दिनअघि झापाको दमकमा सम्पन्न जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले झापा कम्युनिस्ट लालकिल्ला रहेको स्मरण गराउनुभयो।

सोही सम्बोधनमा उहाँले झापामा नेकपा एमाले कमजोर हुँदै गएको कुरा पनि कोट्याउनुभयो। नेकपा एमाले झापा जिल्लाले आयोजना गरेको कार्यक्रमको सभास्थल खचाखच थियो। प्रधानमन्त्रीज्यूको भाषण सुन्ने र उहाँको दर्शनाभिलाषी जनसमुदायको उपस्थितिले सो पार्टीले कार्यक्रम सफल पार्न गरेको मेहनत प्रस्टै झल्की रहेको थियो। कार्यक्रमको समुद्घाटन गमलामा रहेको फूलको बिरुवामा जल सिञ्चन गरी प्रधानमन्त्री ओलीले गर्नुभयो। उद्घाटनको वातावरणमैत्री शैली मन पर्‍यो मलाई।

मैले बाल्यकालमा देखेको हरियालीले भरिएको झापा। जताततै वन, चिया बगानहरू। झापाली जनतामा रहेको वातावरणप्रतिको सचेतना र गाढा प्रेम प्रशस्तै झल्कियो कार्यक्रममा। बोटविरुवाप्रति माया दर्शाउनु एक हिसाबले भावी सन्ततिलाई माया गर्नु नै हो जस्तो लाग्छ मलाई। सही मानेमा भावी पुस्ताका लागि स्वच्छ वातावरण हस्तान्तरण गर्नु हाम्रो पुस्ताको कर्तव्य पनि हो भन्ठान्छु म त।

अहिले व्याप्त प्रतिकूल वातावरण प्रदूषणको युगमा। कार्यक्रम सुरु भयो, राष्ट्रगान बज्न थाल्यो। मञ्चमा भएका कार्यक्रम सञ्चालकले हातले उठ्नु भन्ने इसारा गरेकोजस्तो देखियो। सायद उपस्थित सभाका सहभागीहरूले इसारा नबुझेको हो कि के हो सञ्चालक महोदयले राष्ट्रगान बज्दाबज्दै माइकबाट सबलाई उभिनका लागि अनुरोध गर्नुपर्‍र्या। म त्यहाँ प्रत्यक्ष उपस्थित होइन। सञ्चार माध्यममा हेर्दै गरेको। मनमा एउटा खुल्दुली जाग्यो, मलाई पत्याउन गाह्रो भयो। नेकपा एमालेजस्तो राष्ट्रवादी पार्टीको कार्यक्रममा उपस्थित सहभागीहरूबाट राष्ट्रगान बज्दा उभिएर सम्मान जनाउनुपर्छ भन्ने नै बिर्सेको! कार्यक्रम सञ्चालकले उद्घोषणका क्रममा सहभागीहरूलाई राम्ररी बुझाउन नसकेका हुन् कि के हो बुझ्नै सकिनँ मैले ? त्यो घटना राष्ट्रगानप्रति अवहेलना भएको त अवश्यै होइन होला। यस्तै यस्तै अनेक कुरा खेल्न थाले मनमा।

कार्यक्रममा प्रधानमन्त्रीज्यूले आफ्नो सम्बोधनको क्रममा देश र जनताको हित हुने धेरै कुरा सुनाउनुभयो। आफ्ना कार्यकर्ताहरूको हौसला बढाउनुभयो। देशमा उठ्न थालेका मिति गुज्रेका आवाजहरूको असान्दर्भिकतामाथि पनि प्रधानमन्त्रीज्यूले घोचपेच गर्नुभयो। विकासका गतिविधिहरूको फेहरिस्त पनि सुनाउनुभयो। बीचमा केही दर्शक स्रोताहरूले धीरता गुमाएको हो कि केहो प्रधानमन्त्री स्वयंले सहभागीहरूलाई नसलबलाउन अनुरोध गर्नुप¥यो। यसखाले राजनीतिक सभाहरू अत्यन्तै लामो हुने गर्छ। सुन्ने धैर्य जोगाउनै मुस्किल। ती जनसमुदाय कतै कुनै करकापमा परेर मात्रै उपस्थित भएका त होइनन् ? भन्ने प्रश्न पनि उठ्यो मनमा। बुझ्नै सकिनँ मैले त। अरू कसैलाई सोध्ने कुरा पनि भएन। एक्लै बसेर सामाजिक सञ्जालमा हेरिरहेको थिएँ।

ओलीप्रतिको आकर्षण घटेको त अवश्यै होइन होला ? कि कतै उहाँलाई अलोकप्रिय बनाउने भित्री खेल त भइरहेको छैन ? यो कुरा पनि सोचनीय बनेको देख्छु म त। किनभने उहाँले बोल्न सिध्याउनु मात्रै भएको थियो। त्यो खचाखच भरिएको सभास्थल खाली नै हुन पुग्यो। अन्य पार्टीका केही राजनीतिकर्मीहरूलाई प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टीमा स्वागत गरी रहनुहुँदा सभास्थल रित्तो भएको देखेर नेकपा एमालेसित कुनै साइनो नभएको मलाई समेत असहज महसुस भयो। ती नेकपा एमालेका कार्यकर्ता र सहभागीहरू अधैर्य बनेको देख्दा आश्चर्य पनि लाग्यो। कतै त्यो भिडियो नक्कली त होइन ? मनमा शंका पनि उब्जियो। कतै त्यो प्रधानमन्त्री एवं अध्यक्ष ओलीको मनोबल गिराउने सुनियोजित षड्यन्त्र त होइन? कतै कतै त्यस्ता गाइँगुइँ पनि सुनिन थालिएको छ कि पार्टीभित्रका गुट उपगुटहरू ओलीलाई कमजोर पार्न प्रयासरत छन्।

एमालेभित्र ओलीविरुद्ध वैकल्पिक धारहरू बग्न थालेको पनि सुनिन थालिएको छ। वास्तवमा भन्ने हो भने अहिले ओलीविरुद्ध चौतर्फी आक्रमण भइरहेको आभास हुन्छ। यो गम्भीर विषय हो। कुनै एउटा देशको प्रधानमन्त्रीलाई कमजोर पार्नु भनेको देशै कमजोर पार्नु हो। राष्ट्रिय स्वार्थ र हितको विषय कुनै विचार वा सिद्धान्तभन्दा माथिको कुरा हो। देश  अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बेला जनता एकजुट हुन सकेन भने देशै कमजोर हुन जान्छ। देश कमजोर हुनु भनेको जनता कमजोर हुनु हो। यो कमजोरीले जनताको अस्तित्व नै नमेटाउला पनि भन्न सकिन्न ।

प्रकाशित: १० वैशाख २०८२ ०५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App