७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय समुदायमा संक्रमणकालीन न्याय प्रक्रिया अगाडि बढेको हेर्ने रुचि छ: अमेरिकी राजदूत थमसन

अमेरिकी राजदूत डिन आर थमसनले अन्तर्राष्ट्रिय समुदायमा पीडितको चासोलाई सम्बोधन गर्ने गरी अघि बढ्ने नेपालको संक्रमणकालीन न्याय प्रक्रियाप्रति गहिरो रुचि रहेको बताएका छन्। राजदूत थमसनले उनीहरूमा संक्रमणकालीन न्याय पीडितकेन्द्रित र सबै पीडित तथा पीडित समूहको चासोलाई ध्यानमा राखी नेपालीद्वारा सञ्चालित र नेपालीकै नेतृत्व प्रक्रियाबाट अघि बढोस् भन्ने गहिरो चाहना रहेको बताएका हुन्।

‘यसलाई निश्चित रूपमा म अन्तर्राष्ट्रिय समुदायका सहकर्मीसँग कुरा गर्छु, यो सबैको मनमा छ र अझै गहिरो चासो यसमा छ। हामी यसमा प्रगति हुन्छ भन्नेमा आशावादी छौं,’ उनले भने। नयाँ संसद्ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अगाडि बढाउने र संक्रमणकालीन न्यायसम्बन्धी मुद्दालाई सम्बोधन गर्ने विश्वाससमेत उनले व्यक्त गरे।

दशकभन्दा लामो समयदेखि लम्बिएको संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाबारे संवादाताहरूले सोधेको प्रश्नको जवाफमा राजदूत थमसनले नेपालमा राजनीतिक गतिविधिका कारण हालैका महिनामा यस विषयलाई गम्भीरताका साथ नउठाइएको बताए। ‘हामी यो विषय अगाडि बढेको हेर्न चाहन्छौं। तपाईंहरूले विगतमा पनि हामीले भनेको सुन्नुभएकै छ, हामी यसलाई नेपालीद्वारा नेपालीले सञ्चालन गरेका प्रक्रियाबाट पीडित केन्द्रित भई सबै पीडित र पीडित समूहको चासोलाई सम्बोधन गरियोस् भन्ने चाहन्छौं ।’ राजदूत थमसनले अमेरिका र अन्य पश्चिमा देशहरू नेपालको संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा मौन रहेको भन्ने धारणालाई अस्वीकार गरे। ‘मलाई लाग्दैन यो हाम्रो नियत हो। मलाई लाग्छ मैले भन्नु पर्दा राजनीतिक मौसमका कारण सम्भवतः यो केही ढिला भएको हो। मानिस अन्य विषयमा धेरै केन्द्रित छन्,’ उनले भने।

अमेरिकी राजदूतले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा अमेरिका संलग्न नहुने स्पष्ट पार्दै यसमा पीडितको न्याय सुनिश्चित गर्ने गरी यसको सार्थक निष्कर्षमा पुगेको हेर्न चाहेको बताए। ‘हामी त्यस्तो प्रक्रियामा कहिल्यै संलग्न भएका छैनौं। थुप्रै अन्य कुरा भएका छन्,’ उनले भने, ‘हामी सबै पक्षलाई निरन्तर अगाडि बढ्न प्रेरित गर्छौं र यसमा सफलता हासिल गर्न सबैले बाटो पहिल्याऊन् भन्ने चाहन्छौं। हामी नयाँ संसद् अधिवेशनमा गइरहेका छौं, विधेयकलाई फेरि अगाडि बढाइनेछ भन्नेमा आशावादी छौं ।’

प्रकाशित: २८ पुस २०७९ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App