अमेरिका र लाइबेरियाबिच भएको नयाँ आप्रवासन सम्झौता अन्तर्गत पहिलो पटक देश निकाला गरिएका आप्रवासीहरू लाइबेरिया पुगेका छन्।
ट्रम्प प्रशासनको नीति अनुसार तेस्रो देशका नागरिकहरूलाई अन्यत्र पठाउने यो अहिलेसम्मकै ठुलो प्रयास हो, जसअन्तर्गत लाइबेरियाले आगामी महिनाहरूमा कुल एक हजार २०० जना मानिसहरूलाई स्वीकार गर्ने सहमति जनाएको छ। पहिलो चरणमा २० जना निर्वासितहरू मोनरोभिया बाहिर रहेको रोबर्ट्स अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्। यसरी पठाइएका व्यक्तिहरूमा मुख्यतया ल्याटिन अमेरिकी देशहरू जस्तै भेनेजुएला, क्युबा र कोलम्बियाका नागरिकहरू समावेश छन्।
लाइबेरियाका सूचना मन्त्री जेरोलिनमेक पियाहले यो कदमलाई देशको शरण दिने ऐतिहासिक परम्परासँग जोडेका छन्। उनले भनेका छन् कि ‘निर्वासितहरूलाई पाहुनाको रूपमा स्वागत गरिनेछ जो जब चाहे छोड्न सक्छन् र जसले लाइबेरियामा शरणको लागि आवेदन दिन सक्छन्।’ लाइबेरियाका न्याय मन्त्री नाटु ओस्वाल्ड ट्वेहले पनि चाहेमा उनीहरूले यस पश्चिम अफ्रिकी देशमा शरण लिन सक्ने बताएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन र संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले उनीहरूलाई आवश्यक सेवाहरू प्रदान गर्न सहयोग गर्नेछन्।
अमेरिकी विदेश विभागले यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गरे पनि, ट्रम्प प्रशासनको आप्रवासन नीतिहरू लागू गर्नु ‘शीर्ष प्राथमिकता’ रहेको र यसले ‘गैरकानूनी र सामूहिक आप्रवासन अन्त्य गर्ने र अमेरिकाको सीमा सुरक्षा बलियो बनाउने प्रतिबद्धतामा अटल रहेको’ स्पष्ट पारेको छ। यसअघि नै अमेरिकाले ‘आप्रवासन व्यवस्थापन गतिविधिहरू’ का लागि लाइबेरियालाई ५० लाख डलर प्रदान गरिसकेको छ।
तेस्रो देशका सम्झौताहरू अन्तर्गत ट्रम्प प्रशासनले यसअघि कम्तीमा ३५ देशहरूसँग सम्झौता गरी हजारौं मानिसहरूलाई अन्य देशहरूमा पठाइसकेको छ। अधिकारकर्मी र विभिन्न मानवीय संस्थाका प्रतिनिधिहरूले भने यस्ता कार्यले कानुनी जटिलता र मानवीय संकट निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्। एजेन्सी
प्रकाशित: ५ भाद्र २०८३ ०६:५८ शुक्रबार





