११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
स्वास्थ्य

भास्कुलाइटिस के हो ? यो रोग किन लाग्छ ?

हाम्रो समाजमा जीउ दुख्यो, झमझम भयो वा हातखुट्टा गल्यो भने धेरैले त्यसलाई नसा बाथ भन्ने गर्छन्। कतिले त खुट्टामा देखिने फुलेका नीला नसासँग पनि यसलाई जोड्छन्। तर, ती फुलेका नीला नसा बेग्लै कुरा हुन्—ती त रगतलाई फेरि मुटुतिर फर्काउने सामान्य नसा मात्र हुन्, र तिनलाई ‘वेरिकोज भेन्स’ भनिन्छ। यो लेखमा ‘भास्कुलाइटिस’का बारेमा चर्चा गरिएको छ। नेपालीमा भन्दा यसलाई रक्तनलीको सुजन भन्न सकिन्छ।  

भास्कुलाइटिस भनेको के हो त ?

यो बुझ्न पहिले एउटा कुरा थाहा पाउनुपर्छ : हाम्रो शरीरभित्र एउटा सुरक्षा प्रणाली हुन्छ–जसरी देशको सेनाले बाहिरी शत्रुसँग लड्छ। त्यसैगरी, यो प्रणालीले शरीरभित्र पस्ने कीटाणु र रोगसँग लड्छ। तर, कहिलेकाहीँ यो प्रणालीले गल्ती गर्छ। शत्रु चिन्न नसकेर आफ्नै शरीरका स्वस्थ भागमाथि नै आक्रमण गर्न थाल्छ। यस्तो रोगलाई ‘अटोइम्युन’ रोग अर्थात् आफैँले आफूलाई हान्ने रोग भनिन्छ।

भास्कुलाइटिस यस्तै एउटा रोग हो। यसमा शरीरको सुरक्षा प्रणालीले आफ्नै रक्तनली (रगत बग्ने नली) माथि आक्रमण गर्छ। यो आक्रमणले रक्तनलीलाई सुन्निने (सुजन आउने) बनाउँछ। रक्तनली सुन्निदा तीनवटा कुरा हुन सक्छन्, र तीनै कुरा खतरनाक छन् :

एउटा यसबाट नली साँघुरो हुन्छ। यसले गर्दा त्यो भागमा रगत कम पुग्छ, र सम्बन्धित अङ्ग कमजोर हुन थाल्छ। दोस्रो, नली पूरै बन्द हुन्छ। यसो हुँदा रगत र अक्सिजन नपुगेर त्यो अङ्ग मर्न थाल्छ। तेस्रो भनेको नली कमजोर भएर फुट्छ। त्यतिबेला शरीरभित्रै रक्तस्राव हुन्छ, जुन ज्यानका लागि घातक हुन सक्छ। तर राम्रो कुरा के भने यो रोग धेरै कम मानिसमा मात्र देखिन्छ। नराम्रो कुरा के भने देखियो भने यो गम्भीर हुनसक्छ। त्यसैले समयमै चिन्नु र डाक्टरकहाँ पुग्नु नै सबैभन्दा ठूलो कुरा हो।

यो रोग किन लाग्छ ?

साँचो भन्नुपर्दा, धेरैजसो अवस्थामा यो किन लाग्छ भन्ने ठ्याक्कै कारण थाहा हुँदैन। शरीरको सुरक्षा प्रणाली किन अचानक आफ्नै रक्तनली माथि बिग्रिन्छ, त्यो अझै पूरै बुझिएको छैन। तैपनि केही कुराहरुले यो रोगलाई निम्त्याउन वा बढाउन सक्छ  कलेजोको सङ्क्रमण (हेपाटाइटिस बी वा सी) जस्ता केही सङ्क्रमणहरू भएको अवस्थामा, केही औषधिको प्रतिक्रिया भएमा र कहिलेकाहीँ क्यान्सरसँग पनि सम्बन्धित हुनसक्छ। केही व्यक्तिमा सङ्क्रमण वा खोपपछि पनि यो देखिएको रिपोर्ट छ, तर यस्तो निकै कम हुन्छ। त्यसको डरले खोप छोड्नु हुँदैन। खोपको फाइदा यस्ता दुर्लभ जोखिमभन्दा निकै ठूलो हुन्छ।

रोगका प्रकार र लक्षण के के हुन् ?

भास्कुलाइटिसले शरीरका कुन आकारका रक्तनलीलाई असर गरेको छ, त्यसै अनुसार लक्षण फरक हुन्छन्। मुख्यतया तीन किसिम छन् तर लक्षणको सूचीमा अल्झिनुभन्दा एउटै कुरा सम्झनुपर्छ। तल उल्लिखित कुनै पनि लक्षण देखिए ढिलो नगरी डाक्टरलाई देखाउनुपर्छ।  

सानो रक्तनलीको सुजन

यसको सबैभन्दा चिन्न सजिलो लक्षण हो। यसमा छालामा, खासगरी खुट्टातिरबाट सुरु भएर देखिने गाढा राता साना थोप्ला वा धब्बा (दबाउँदा पनि नहराउने) देखिन्छ। यसले भित्री अङ्गलाई पनि असर गर्छ। फोक्सोमा परेमा लगातार खोकी, खकारमा रगत, सास फेर्न गाह्रो हुन्छ भने मिर्गौलामा परेमा पिसाबमा रगत वा फिँज देखिने। यो खतरनाक छ, किनभने पत्तै नपाई मिर्गौला बिग्रन सक्छ।

यो समस्या बालबालिकामा बढी देखिन्छ (बच्चामा हुने एक सामान्य प्रकारलाई ‘हेनोक–शोनलाइन परप्युरा’ वा ‘आइजिए भास्कुलाइटिस’ भनिन्छ, जुन प्रायः आफैँ निको हुन्छ)। तर वयस्कमा देखिए कडा हुनसक्छ।

मध्यम रक्तनलीको सुजन

यसले भित्री अङ्गमा रगत पु¥याउने मध्यम आकारका नलीलाई असर गर्छ। यसका लक्षणहरुमा धेरै दिनसम्म ज्वरो, शरीर गल्नु, तौल घट्नु, छालामा कडा गिर्खा (डल्ला) आउनु, ती बिग्रिएर निको नहुने घाउ बन्न पुग्छ। कहिलेकाहीँ हातखुट्टाका औँलामा रगत पुग्नै छोडेर औँला काला भई सुक्ने र मर्ने अवस्था आउन (यसलाई ग्याङिग्रन भनिन्छ–अङ्ग सडेर मर्ने अवस्था) सक्छ।

ठूलो रक्तनलीको सुजन

यसले शरीरका ठूला रक्तनलीलाई असर गर्छ र प्रायः ५० वर्षभन्दा माथिका मानिसमा देखिन्छ। यसका केही लक्षण तुरुन्त उपचार चाहिने आपत्कालीन अवस्था हुन्। यसमा नयाँ किसिमको टाउको दुखाइ, खासगरी कन्चटतिर बढी दुख्छ। कपाल कोर्दा वा छाला छुँदा टाउकोको छाला दुख्ने, केही बेर चपाएपछि बङ्गारा दुख्ने वा गल्ने हुन्छ।

यो भास्कुलाइटिसको निकै महत्वपूर्ण सङ्केत हो। अचानक आँखा धमिलो हुनु वा देख्नै छोड्ने हुनसक्छ। यो आपत्कालीन हो किनभने ढिलो भए स्थायी अन्धोपन हुनसक्छ। हात माथि उठाउँदा वा हिँड्दा हातखुट्टा गल्ने हुन्छ।

माथि उल्लेख गरिएका अवस्था देखिएमा बिरामीलाई तुरुन्त अस्पताल लैजानुपर्छ। खासगरी अचानक आँखा धमिलो हुनु वा नदेख्ने, सास फेर्न साह्रै गाह्रो हुनु वा खकार÷थुकमा रगत आउने, पिसाबमा रगत देखिने, शरीरको एकातिर अचानक कमजोर हुनु, बोली लर्बराउनु वा अनुहार बाङ्गिएमा (पक्षघातको सङ्केत), औँला वा अङ्ग काला हुँदै गएमा तुरुन्तै अस्पताल जानुपर्छ।

डाक्टरले कसरी पत्ता लगाउँछन् ?

यो रोग चिन्न डाक्टरलाई पनि गाह्रो हुन्छ, किनभने सुरुका लक्षण सामान्य पेट दुखाइ, ज्वरो वा छालाको एलर्जीजस्तै देखिन्छन्। त्यसैले एउटै जाँचले पुग्दैन। डाक्टरले विभिन्न तरिका मिलाएर निष्कर्षमा पुग्नुपर्ने हुन्छ। रगत जाँच गरी शरीरमा सुजन छ कि छैन हेर्न जस्तै ‘इएसआर’ र ‘सिआरपी’ नामका जाँच, रगतको कमी छ कि भनेर हेर्न सकिन्छ।

मिर्गौला, कलेजोजस्ता अङ्गको जाँचबाट कुन अङ्गमा असर परेको छ थाहा पाउन सकिन्छ। ‘बायोप्सी’ गरी रोग पक्का गर्न शरीरको सानो टुक्रा झिकेर सूक्ष्मदर्शकमा हेरेर अवस्था पत्ता लाग्दछ। त्यस्तै ‘इमेजिङ/एन्जियोग्राम’ गरेर रक्तनली साँघुरो वा बन्द भएको छ कि भनेर थाहा हुन्छ। नेपालमा यी सबै सुविधा खासगरी काठमाडौँबाहिर सजिलै नपाइन सक्छ। त्यसैले लक्षण देखिए सकेसम्म चाँडो विशेषज्ञ भएको ठूलो अस्पताल पुग्नु राम्रो हुन्छ।

उपचार :के गर्न मिल्छ, के गर्न हुँदैन ?

यो रोग पूरै निको नहोला, तर समयमै उपचार सुरु गरे राम्ररी नियन्त्रणमा राख्न सकिन्छ, र अङ्गलाई बिग्रनबाट जोगाउन सकिन्छ। धेरै बिरामी औषधिको सहायताले सामान्य जीवन बिताउँछन्।

औषधिको प्रयोग : यसमा डाक्टरले दिने औषधि भनेको स्टेरोइड हो, जसले सुजन छिटो घटाउन मद्दत गर्दछ। यो सुरुमा बढी मात्रामा दिइन्छ, अनि रोग नियन्त्रणमा आएपछि बिस्तारै घटाइन्छ। आफैँ अचानक छोड्नु हुँदैन। अर्को इम्युनोसुप्रेसिभ औषधि हो। यसले अति सक्रिय भएको सुरक्षा प्रणालीलाई शान्त पार्ने काम गर्दछ, जसले रोग दोहोरिन दिँदैन।

त्यस्तै अर्को बायोलोजिक औषधि हुन्छ। नयाँ किसिमको लक्षित यो औषधि केही खास प्रकारका भास्कुलाइटिसमा प्रयोग गरिन्छ।

पेनकिलरको प्रयोग नगर्नेः नेपालमा जीउ दुख्नासाथ डाक्टरलाई नसोधी मेडिकलबाट किनेर दुखाइको औषधि (पेनकिलर) खाने बानी छ। यसमा सबैभन्दा ठूलो चेतावनी भनेको बिरामीले दुखाइ कम गर्ने नाममा आफैँ पेनकिलर खानु हुँदैन।

यो साह्रै जोखिमपूर्ण हुन सक्छ किनभने पेनकिलरले केही बेर दुखाइ मात्र दबाउँछ, रोग निको पार्दैन, उल्टो रोग भित्रभित्रै बढिरहन्छ। लामो समय खाँदा पेटमा घाउ हुने, र कलेजो तथा मिर्गौला बिग्रने डर हुन्छ। त्यसैले दुखाइ भए लुकाएर औषधि खानुको सट्टा डाक्टरलाई देखाउनुपर्छ।

फिजियोथेरापी उपयोगीः कहिलेकाहीँ यो रोगले नसामा असर गरेर हातखुट्टा चलाउन गाह्रो हुन्छ वा जोर्नी अररो हुन्छ। यस्तो बेला औषधिले मात्र पुग्दैन। फिजियोथेरापी (विशेष व्यायाम र विधिमार्फत गरिने उपचार) ले मांसपेशी फेरि बलियो बनाउन, जोर्नी नचल्ने हुनबाट जोगाउन र रक्तसञ्चार सुधार्न मद्दत गर्छ। डाक्टरले सुझाएमा यो नियमित गर्न सकिन्छ।  

मन र परिवारको भूमिका महत्वपूर्ण : लामो समय रहने दुखाइ र रोगको चिन्ताले बिरामीलाई शरीरमा मात्र होइन, मनमा पनि असर पार्छ। निराशा लाग्ने, रिस उठ्ने, निद्रा नलाग्ने वा आत्मविश्वास घट्ने हुनसक्छ। काम गर्न नसक्दा घरमा आर्थिक र भावनात्मक तनाव पनि आउँछ।

यस्तो बेला परिवारले बिरामीलाई दोष दिनु हुँदैन। किन यस्तो भयो, तिमीले ध्यान दिएनौँ भन्नुको सट्टा साथ दिने, बुझाउने, र आशा जगाउनेजस्ता सकारात्मक भाव जागृत गराउनुपर्छ। यसले उपचारमा निकै सहयोग पुग्दछ।  

नेपालमा कहाँ उपचार पाइन्छ ?

बाथ र रक्तनलीको रोग हेर्ने विशेषज्ञ डाक्टरलाई रुमाटोलोजिस्ट (बाथरोग विशेषज्ञ) भनिन्छ। नेपालमा यस्ता विशेषज्ञ निकै थोरै छन्, र अधिकांश काठमाडौंमै छन्। सरकारी अस्पतालमध्ये पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालमा यो सेवा उपलब्ध छ। लक्षण मिल्दा सामान्य डाक्टरले पनि सुरुमा हेरेर विशेषज्ञकहाँ पठाउन सक्छन्।

घरमा ध्यान दिने केही कुरा

हल्का व्यायामः बिहान हिँड्ने, हल्का योग र सास फेर्ने अभ्यास (प्राणायाम) ले शरीर सक्रिय राख्छ। तर डाक्टरको सल्लाहअनुसार मात्र गर्नुपर्छ।

राम्रो खानाः ताजा, पोषणयुक्त खाना खानुपर्छ। धेरै चिल्लो, धेरै नुनिलो र फास्टफुड खाना खानु हुँदैन।

अन्धविश्वासमा नपर्नु : धेरै बिरामी सुरुमा झारफुक वा घरेलु उपचारमा मात्र अल्झेर रोग गम्भीर भएपछि बल्ल अस्पताल आउँछन्। त्यतिबेलासम्म भित्री अङ्ग बिग्रिसकेका हुनसक्छ। लक्षण देखिनासाथ डाक्टरलाई देखाइहाल्नुपर्छ।

नियमित जाँच (फलोअप) : डाक्टरले भनेको समयमा गई रगत, मिर्गौला र कलेजोको जाँच गराउनुपर्छ र औषधि आफैँ बदल्नु हुँदैन।  

निष्कर्ष

रक्तनलीको सुजन (भास्कुलाइटिस) सुन्दा डरलाग्दो भए पनि निराश हुनु पर्दैन। समयमै चिनेर, विशेषज्ञलाई देखाएर र नियमित उपचार गरे यो रोगलाई राम्ररी सम्हाल्न सकिन्छ। आफैँ पेनकिलर खाएर रोग लुकाउनुको सट्टा सही समयमा सही ठाउँमा उपचार लिनुपर्छ। त्यही नै सबैभन्दा बुद्धिमानी कदम हो। 

प्रकाशित: ११ जेष्ठ २०८३ ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App