१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

क्रुज जहाजमा तीन जनाको ज्यान लिने ‘हन्टा भाइरस’ के हो ?

अर्जेन्टिनाबाट यात्रा सुरु गरेको एउटा क्रुज जहाजमा हन्टा भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।

डब्ल्यूएचओले यसलाई गम्भीरतापूर्वक लिएको भए पनि यो कोभिड-१९ जस्तो नयाँ विश्वव्यापी महामारीको सुरुवात नभएको बताएको छ।

एक महिनाअघि अर्जेन्टिनाबाट प्रस्थान गरेको ‘एमभी होन्डियस’ नामक जहाजमा हालसम्म पाँच जनामा संक्रमण पुष्टि भइसकेको छ। भाइरसको लक्षण देखिन ६ हप्तासम्मको समय लाग्न सक्ने भएकाले संक्रमितको संख्या अझै बढ्न सक्ने चेतावनी डब्ल्यूएचओले दिएको छ। 

जहाजमा हालसम्म तीन पुष्टि र पाँच शंकास्पद गरी कुल आठ जनामा संक्रमण देखिएको छ।

डब्ल्यूएचओकी संक्रामक रोग महामारी विशेषज्ञ मारिया भान कर्खोभले भाइरसको यो नयाँ प्रकोपलाई लिएर विश्व स्वास्थ्य संगठन सधैँ तयारी अवस्थामा रहेको बताइन्।

‘यो अर्को कोभिड महामारीको सुरुवात होइन,’ उनले पत्रकार सम्मेलनमा भनिन्, ‘हामीले विगत १० वर्षमा राम्रो निदान र खोप विकासका लागि धेरै काम गरेका छौँ, जसको फाइदा कोभिडका बेला पनि भएको थियो।’

प्रकोप देखिएपछि जहाजबाट ओर्लिएर घर फर्किसकेका यात्रुहरूको खोजी (कन्ट्याक्ट ट्रेसिङ) तीव्र पारिएको छ। बेलायत, दक्षिण अफ्रिका, नेदरल्याण्ड्स, अमेरिका र स्विजरल्याण्ड लगायतका देशमा स्वास्थ्य अधिकारीहरूले यात्रुहरूको निगरानी गरिरहेका छन्।

हन्टाभाइरस सामान्यतया मुसाको मलमूत्र, दिशा वा र्‍यालबाट दूषित भएको हावाका माध्यमबाट मानिसमा सर्ने गर्दछ। हाल जहाजमा देखिएको ‘एन्डिज स्ट्रन’ भने मानिसबाट मानिसमा पनि सर्न सक्ने क्षमता राख्छ।

यद्यपि, यो भाइरस दादुरा वा कोभिड जस्तो अत्यधिक संक्रामक नभई निकै नजिकको र लामो समयको सम्पर्कबाट मात्र सर्ने विशेषज्ञहरूको भनाइ छ।

भाइरसको संक्रमण भएको दुई देखि चार हप्ताभित्र फ्लु जस्तै लक्षण देखिन सुरु हुन्छ। यसमा ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी दुख्ने, श्वास फेर्न गाह्रो हुने र पेट सम्बन्धी समस्या देखिन सक्छन्।

यसको कुनै विशेष उपचार नभए पनि अस्पतालमा सुरुमै दिइने चिकित्सकीय सहयोगले ज्यान जोगाउन सकिने डब्ल्यूएचओकी प्राविधिक विज्ञ अनिस लेग्यान्डले जानकारी दिइन्।

जहाज सञ्चालक कम्पनी ‘ओसनवाइड एक्सपिडिसन’ का अनुसार गत अप्रिल २४ मा सेन्ट हेलेनामा ३० जना यात्रु ओर्लिएका थिए। मृत्यु हुनेमध्येकी एक डच महिलाले सोही टापुमा जहाज छोडेकी थिइन्। उनका श्रीमानको चैत २९  मा जहाजमै मृत्यु भएको थियो।

यूकेएचएसएकी उप-निर्देशक डा. मीरा चन्दले सर्वसाधारणका लागि जोखिम निकै कम रहेको भन्दै आश्वस्त पारेकी छिन्।

हाल एमभी होन्डियस जहाज स्पेनको क्यानरी टापुतर्फ गइरहेको छ। जहाजलाई पूर्ण रूपमा ‘डीप क्लिन’ गरिएको र बाँकी रहेका यात्रुहरूमा कुनै लक्षण नदेखिएको सञ्चालक कम्पनीले जनाएको छ।

यूकेएचएसएले जहाजबाट फर्किने १९ जना बेलायती नागरिकहरूलाई सुरक्षित रहन ४५ दिनसम्म आइसोलेसनमा बस्न आग्रह गरेको छ।

प्रकाशित: २४ वैशाख २०८३ २०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App