१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

त्रियुगा नगरपालिका क्षेत्रसहित अन्य क्षेत्रमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ। जिल्ला अस्पतालका अनुसार साउन अन्तिम हप्तादेखि देखा परेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिकासहित जिल्लाको अन्य क्षेत्रमा पनि फैलन थालेपछि उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ।  

जिल्ला अस्पतालका प्रमुख वीरेन्द्र मण्डलका अनुसार लगातार पानी परेपछि जमिनको पानी र पिउने पानीमा प्रदूषणका कारण भाइरलको प्रकोप बढेको हो। जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेका अनुसार अहिले दैनिक चार सय ५० देखि पाँच सयको संख्यामा भाइरलका बिरामी उपचार गर्न अस्पताल आउने गरेका छन्। अस्पतालमा आकस्मिक, ओपिडीसहित अन्य कक्षमा गरेर दैनिक पाँच सयको हाराहारीमा बिरामी बढेपछि उनीहरूलाई बेडमा राखेर उपचार गर्न समस्या हुन थालेको अस्पताल प्रशासनले जनाएको छ।  

साउनको अन्तिम हप्तादेखि फाटफुट भाइरलका बिरामी अस्पतालमा आउन थालेका र भदौ सुरु भएपछि चार सय ५० देखि दैनिक पाँच सयको संख्यामा बिरामी बढेको सूचना अधिकारी पाण्डेले बताए। भदौ लागेपछि भाइरलको प्रकोप बढेपछि जिल्ला अस्पतालसहित स्थानीय निजी अस्पताल, क्लिनिक र स्वास्थ्यचौकीमा पनि भाइरलका बिरामी उपचारमा आउने संख्या बढ्न थालेको स्थानीय निजी अस्पताल र क्लिनिकले जनाएका छन्।  

वर्षासँगै मौसम प्रदूषित भएपछि त्रियुगा नगरपालिका क्षेत्रका वडा नं १ जोगीदह, ३ मोतिगडा, २ खैजनपुर, ७ चुहाडे, ८ शाहीखोला, राजाबास, असारी, पोर्ताह, गाईघाट, लक्ष्मीपुरसहितका क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेपछि विद्यालय जाने उमेरकालाई समेत प्रभाव पारेको त्रियुगा–१२ का वडाध्यक्ष नवीनकुमार राईले बताए।  

त्यसैगरी बेलका नगरपालिकाको भागलपुर, परनदह, आम्बासी, तपेस्वरीसहित चौदण्डीगढी नगरपालिकाका हँढिया, सुन्दरपुर, सिवाई बेलही देवधार क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेको हँडियाका समाजसेवी युवा देवनारायण चौधरीले बताए। रासस

प्रकाशित: ८ भाद्र २०८२ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App