१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

आँखा शिविरबाट तीन सयले पाए उपचार

धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन्। म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शनिबार आयोजित शिविरमा सर्वसाधारणले आँखा जाँच गरी उपचार सेवा लिएका हुन्।

शिविरमा धवलागिरि–७ ताकमका साथै धवलागिरि–२ लुलाङ, वडा नं ३ मुना र वडा नं ४ खिबाङका सर्वसाधारणले आँखा जाँच गराएर उपचार सेवा लिएको जेसीजका शाखा अध्यक्ष विनोद घर्तीले जानकारी दिए। ग्रामीण भेगका सर्वसाधारणलाई आँखासम्बन्धी समस्याको घरदैलोमै उपचार गराउने अवसर दिन सामाजिक उत्तरदायित्व बहन गरेर शिविर आयोजना गरिएको उनले बताए।

शिविरमा नेत्र अधिकृतद्वय दिनेश बानियाँ र गणेश महतोसहित स्वास्थ्यकर्मीको टोलीले आँखा जाँच, औषधि र चश्मा वितरणसँगै परामर्श सेवा दिएको थियो। गाउँमै आँखा उपचार सेवा लिन पाएपछि स्थानीयवासी खुसी भएका छन्। शिविरको उद्घाटन गर्दै धवलागिरि–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले शिविरले घरदैलोमै उपचार सेवा लिने अवसर दिएको बताउँदै सर्वसाधारणलाई राहत भएको बताए।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दीप खत्रीले युवाको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय रहेको जेसीजले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा रचनात्मक कार्य गरी आफूलाई स्थापित सामाजिक संस्थाका रूपमा अग्रसरता लिएकामा जोड दिए। नेत्रज्योति संघ म्याग्दीका सभापति अमर बानियाँले आँखा मानिसको अभिन्न अंग भएकाले यसको सुरक्षाको सन्देश र आँखाको समस्यासम्बन्धी उपचार सेवा दिन शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। रासस

प्रकाशित: २ कार्तिक २०८२ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App