मनसुन यता काठमाडौं वरपर मात्र ३८१ जनालाई सर्पले टोकेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसार बिहीबारसम्म ३८१ जनालाई सर्पले टोकेको हो।
अस्पतालका अनुसार सर्पले टोकेर उपचारमा आउने जिल्लाहरूमा भक्तपुर, ललितपुर, काठमाडौं, धादिङ, नुवाकोट र काभ्रे रहेका छन् ।
पहाडी भेगमा धेरै जसो हरियो सर्पले टोकेर उपचारको लागि आउने गरेको अस्पतालका निर्देशक डा। युवानिधी बसौलाले बताए। ‘धेरै जसो हरियो सर्पले टोक्यो भन्दै आउनु भएको देखिन्छ’ उनले भने, कतिले भने आफूलाई टोकेको सर्प नदेखेको बताउँछन्।
हरियो सर्पले टोकेमा मानिसको मृत्यु नभई हाल्ने भए पनि टोकेको भागमा घाउ हुने, रक्तस्राव हुने र शरीर सुन्निने जस्ता समस्या हुने भएकोले चारदेखि पाँच दिनसम्म भर्ना गरेर उपचार गर्नुपर्ने उनले बताए।
सर्पले टोकिनेमा घाँस काट्न जाने, खेतीपाती गर्ने र तरकारी टिप्न जानेहरू धेरै रहेका छन्। त्योसँगै खेतबारीमा अग्लो बुट विना जाने, अँध्यारोमा जानेहरू धेरै रहेको डा। बसौलाले बताए । रातिमा अग्लो बुट बिना या नाङ्गो गोडा झाडी या बारीमा जानेलाई सर्पले टोक्ने गर्छ’ उनले भने ।
घाँस या तरकारी जस्तै हरियो रङको भएकोले झट्ट सर्प नदेखिएकोले पनि झुक्किएर हरियो सर्पले टोक्ने गरेको डा। बसौला बताउँछन् । खेतबारीमा जाँदा अग्लो बुट लगाएर मात्र जाने, हातमा ग्लोबको प्रयोग गर्ने, घर वरपर झाडी नराख्ने, राम्रोसँग हेरेर मात्र तरकारी या खेतीमा काम गर्ने, राति हिँड्दा बुट लगाएर र लाइट बालेर मात्र हिँड्ने जस्ता सजगता अपनाएमा सर्पको टोकाइबाट बच्न सकिने उनको सुझाव छ ।
प्रकाशित: २६ असार २०८२ १३:५५ बिहीबार




