दश वर्षे द्वन्द्वले भर्खरै मुर्झाउन थालेको देशमा २०७२ को भूकम्प, त्यसपछि कोरोना त्रासले काँचुली फेर्दै गर्दा २०८२ असोजको उत्तरार्धमा भएको जेनजी आन्दोलनले नेपालीलाई ‘धेरै’ दिएको छ। परिवर्तनको आशा जगाएको छ, कुशासनबाट आजितहरूको आँखामा कान्ति छाएको छ। अर्कोतिर आम नागरिकको मनभित्र नजानिँदो भय पनि थपेको छ।
अकल्पनीय परिवर्तनको सम्भावना भित्र केही बौद्धिकका विश्लेषण धेरैको मानसपटल उदेक बनेर बसेको छ भने इतिहासका धरोहर रातभर जलिरहँदा रोएका आम नेपालीको मन आज पनि तड्पाइमा छ। त्योभन्दा ठूलो चोट विद्यालय पोसाकमा ढालिएका युवाको रगतले दिएको छ। यी सबै बिचमा आशा र निराशा बराबर देखिन्छ।
जेनजी आन्दोलन कतिबेलासम्म ‘अर्ग्यानिक’ थियो अनि कुन मोडमा पुगेर ‘हाईज्याक’ भयो धेरैका मनमा आफ्ना–आफ्ना अपुष्ट धारणा यथावत् छन्। राजनीति धेरै बुझेकाहरू टेलिभिजन, युट्युब वा अन्य सञ्चार माध्यममा खबर बनेर छाउँदै गर्दा अलिअलि बुझेकाहरूले अनुकूलको धारणा बनाएर बसेका छन्।
तर देशको अर्को ठूलो तप्का जसले न हिजो राजतन्त्र बुझ्यो, न प्रजातन्त्र न त गणतन्त्र। जेनजी आन्दोलन भित्र सामाजिक सञ्जालमा मात्र देखेकाहरूलाई हिजो व्यवस्था परिवर्तन हुँदा कुनै फरक पारेन भने अहिलेको सत्ता परिवर्तनले कुनै अर्थ राखेको छैन। सहरका गल्ली र चोकमा हुने परिवर्तनले व्यवस्था फेरिए पनि अवस्था नफेरिएका कारण उनीहरू मनमा पीडाको भारी बोकेर दैनिकी चलाउँदै छन्।
असोज २४ अर्थात् अक्टोबर १० विश्व मानसिक स्वास्थ्य दिवसका रूपमा मनाइन्छ तर यतिबेला आम नागरिकमा मानसिक समस्याहरूले बास गरेको छ। हरेक विपद्ले मानिसमा मनोसामाजिक समस्या निम्त्याउने गर्दछ। आम रूपमा समस्याका रूपमा नलिइने यो समस्या विकराल बन्दै गइरहेको भन्दै मानसिक स्वास्थ्यमा काम गर्नेहरूले चिन्ता र चासो दिन थालेका छन्।
विश्वमा हुने मृत्युका प्रमुख कारणमध्ये आत्महत्या १५ औँ नम्बरमा पर्छ। वार्षिक करिब ७ लाख बढी मानिसको आत्महत्याका कारण ज्यान जाने गर्दछ। अर्थात् हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेको पाइन्छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा गत आर्थिक वर्ष २०८१/०८२ मा ७,०५५ जनाले आत्महत्या गरेका थिए। तीमध्ये ८७० बालबालिका छन्। चिकित्सकका अनुसार यी अधिकांश मृत्यु मानसिक समस्याका उपज हुन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार मानसिक स्वास्थ्य एउटा अवस्था हो जसमा व्यक्तिले आफूसँग भएको सामर्थ्यलाई महसुस गर्ने, जीवनमा आइपर्ने सामान्य तनावलाई सामना गर्न सक्ने, उत्पादनशील काम गर्न सक्ने, आफ्नो क्षमता अनुसार परिवार र समाजका लागि योगदान गर्न सक्ने हुन्छन्। मानसिक स्वास्थ्यले संवेगात्मक, मनोवैज्ञानिक र सामाजिक सुस्वास्थ्यलाई समेटेको हुन्छ।
व्यक्तिले कस्तो सोच्छ, महसुस गर्छ र क्रियाकलाप गर्दछ भन्ने कुरालाई प्रभाव पार्दछ। त्यसैले मानसिक रूपमा स्वस्थ व्यक्तिले आफ्नो सोचाइ, भावना र व्यवहारलाई समाजमा सबैले मान्य हुने ढङ्गले प्रकट गर्दछन्। मन र समाजबिचको तालमेल मिलेको अवस्थामा व्यक्तिमा कुनै समस्या हुँदैन। यसलाई मनोसामाजिक सुस्वास्थ्य भनिन्छ।
तर एउटा व्यक्ति समाजमा बसेर हुर्केको हुन्छ, उसँग त्यस समाजप्रतिको संस्कार, परम्परा, धर्म, आपसी सम्बन्ध हुन्छ भने त्यसको साथसाथै उसको व्यक्तिगत भावना, विचार, धारणा, बुझाइ आदि पनि हुन्छ। यी दुईबिचको सम्बन्ध नै मनोसामाजिक हो र यी दुईबिच सन्तुलन हुन सकेन भने मनोसामाजिक समस्या उत्पन्न हुन सक्छ।
मनोचिकित्सक डा. अरविन्द भुषालले पहिले धामीझाँक्री बढी थियो तर अहिले जनचेतना बढेकाले उपचारमा आउनेको सङ्ख्या बढेको बताए। ‘तर पनि ७० प्रतिशत उपचारमा आउँदैनन् अर्थात् मेन्टल हेल्थ ग्याप छ,’ उनले भने, ‘रोग लुकाउने र धामीकहाँ फुकाउने चलन घट्न सकेको छैन। सामाजिक भ्रमले समस्या थपेको छ।’
डा. भुषालका अनुसार ‘एन्जाइटी, डिप्रेसन, लागू औषध प्रयोग बढी छ। दुर्व्यसनमा फस्ने सम्भावना एकदमै डरलाग्दो छ। हिजोआज चाहना पूरा हुन नसकेपछिका केस बढी आउँछन्। मानिस तनाव व्यवस्थापन गर्न नसक्दा कि दुर्व्यसनी हुन्छ कि त मनोरोगी हुन्छ। यस्तो अवस्थामा सहि निर्णय लिने सम्भावना हुँदैन।’
देशका विभिन्न जिल्लामा मानसिक स्वास्थ्यका सवालमा काम गरिरहेको नागरिक आवाजका वरिष्ठ मनोविमर्शकर्ता सुदिप सिग्देल यो विषय राज्यको प्राथमिकतामा नभएको बताए। ‘मानसिक स्वास्थ्य ठीक अवस्थामा छैन। बिरामी वा समस्या मनमा बोक्ने मान्छेको सङ्ख्या बढेको छ। देशको अस्थिर अवस्थाले पनि समस्या बढिरहेको हो।’
सिग्देलका अनुसार मानसिक समस्याका विभिन्न कारणमध्ये असुरक्षा र अनिश्चितताले मलजल गरेको छ। ‘बच्चादेखि वृद्धसम्म समस्या छ। चिन्ता र तनावको लेभल बढेको छ। साइकोसिसमा मेडिसिन आवश्यक हुन्छ र न्यूरोसिसमा वातावरण गतिलो चाहिन्छ तर हाम्रोमा दुवै गतिलो भएन। विभिन्न आन्दोलन र अस्थिरतामा मानसिक समस्या एकदमै बढेर आउँछ।’
उहिले माओवादीको युद्धले थलिएका आम नेपालीहरू तङ्ग्रिन नपाउँदै उल्झिएको अहिलेको राजनीतिक परिवेशले दिक्क छन्। सामाजिक सञ्जालमा पलपल आउने पीडादायक तस्बिर र भिडियो अनि खबरहरूले उनीहरूको मन बेचैन छ। भदौ २३ र २४ गते बगेको काठमाडौंको रगतमा कतिले आफ्नो विगत देखे भने कतिले सपना तुहिएको देखे।
आफ्नो इज्जत गरेर खानेलाई समेत देशमा हुने यस्ता आततायी दृश्यले चैन दिएको छैन। हिजो छोरा, श्रीमान् वा आफन्तलाई लागेको गोलीले धेरैलाई विगत सम्झाएको छ। आफन्त मारेर कारागार बसेकाहरू जेल तोडेर गाउँ छिर्दा धेरैको निद्रा हराम भएको छ। आफ्नो र बिरानो को हो भन्ने अन्यौलता छ। यी सबै राजनीतिक चटारोले बालबालिका, युवायुवती, प्रौढ र वृद्धवृद्धा सबैको मनमा उज्यालो आउन सकेको छैन।
जेनजी आन्दोलनपछि आम नेपालीमा मानसिक रूपमा एकदमै नकारात्मक प्रभाव परेको मनोचिकित्सकहरूले बताउँछन्। मानसिक रूपमा समस्या भोगेका सुधार हुँदै गरेको बिरामीहरू पनि भदौ २३ र २४ को घटनापछि फेरि मानसिक समस्या दोहोरिएका छन्। न्युज र भ्युजका लागि सम्पादन नगरिएका दृश्यहरू सामाजिक सञ्जालमा आएपछि धेरैमा मानसिक समस्या थपिएको हो।
जेनजीको आन्दोलनपछि धेरैमा निदाउन नसक्ने, तर्सिने, डराउने, मुटु ढुकढुक हुने, असुरक्षा महसुस हुनुका साथै विश्वासमा कमी आएको छ। जहाँ हुँदा पनि मनमा त्यही कुरा आउने, सास फेर्न गाह्रो महसुस हुने, छाती भारी हुने, निद्रामा असजिलो हुने र डरलाग्दा सपना देखिँदा धेरैको दिनचर्या असजिलो भएको छ। यो समस्या लामो समय रहन सक्छ। आफैँले आफ्नो समस्या समाधान गर्न नसक्ने अर्थात् भलनरेबल समूहलाई ठूलो जोखिम हुन सक्छ।
प्रकाशित: २४ आश्विन २०८२ १२:५० शुक्रबार





