संघीय राजधानी रहेको काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका इँटाभट्टाबाट निस्कने वायु प्रदूषणले भट्टामा कार्यरत मजदुर र वरपरका बासिन्दाको स्वास्थ्यमा गम्भीर असर पारेको एक अध्ययनले देखाएको छ । वैज्ञानिक जर्नल ‘एट्मसफेरिक पोलुसन रिसर्च’मा गत साता प्रकाशित एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययनले इँटाभट्टा आसपासका बस्तीको हावामा अत्यन्त ससाना कण (पिएम २.५) को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको वार्षिक मापदण्डभन्दा १७ गुणा र भट्टा परिसरमा ३० गुणा बढी रहेको देखाएको छ । अध्ययनले अध्ययनले इँटाभट्टाले वायु प्रदूषण बढाउने र त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने तथ्यलाई थप पुष्टि गरेको छ ।
विश्व स्वास्थ सगठनले स्वस्थ वायुका लागि पिएम २.५ को मात्रा वार्षिक सरदर ५ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्ने तोकेको छ । नेपालले स्वच्छ वायुको मापदण्ड पिएम २.५ को दैनिक मात्रा सरदर ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्ने तोकेको छ ।
इँटाभट्टा सञ्चालनमा रहेका बेला परिसरमा पिएम २.५ को सरदर स्तर १५१.२ माइक्रोग्राम प्रतिघनमिटर र भट्टा नचलेका बेला (मनसुन याममा) ८.८ माइक्रोग्राम प्रतिघनमिटर पाइएको देखाएको छ । त्यस्तै इँटाभट्टा सञ्चालनमा रहेका बेला १ किलोमिटर परिधिभित्रका बस्तीमा पिएम २.५ को सरदर स्तर ८४.६ माइक्रोग्राम प्रतिघनमिटर र सञ्चालन नभएका बेला ७.५ माइक्रोग्राम पाइएको छ । अध्ययनले इँटाभट्टा आसपास बस्तीका महिलामा पुरुषहरूको तुलनामा श्वासप्रश्वाससम्बन्धी समस्या बढी रहेको देखाएको छ । भट्टामा कार्यरत मजदुरहरूमा निरन्तर खोकी साझा समस्या रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । शोधकर्ताहरूका अनुसार अध्ययन क्षेत्रमा सास फेर्न गाह्रो हुने, दम, खोकी जस्ता रोगका बिरामी पनि बढी पाइएका छन् ।
नेपाल र दक्षिण एसियाका अन्य देशमा यसअघि गरिएका अध्ययनहरूले प्रायः इँटाभट्टाका मजदुरमा हुने जोखिमलाई मात्र समेटेकोमा यो अध्ययनले समुदाय स्तरको स्वास्थ्य समस्यालाई पनि ध्यानमा राखेकोदाबी गरिएको छ । अध्ययनले उच्च वायु प्रदूषणका कारण सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्ने, दम जस्ता असरलाई थप पुष्टि गरेको छ ।
नेपालको समग्र वायु प्रदूषणमा इँटाभट्टाको योगदान झण्डै २० प्रतिशत रहेको अनुमान छ । अध्ययनले काठमाडौं उपत्यकामा इँटा उत्पादनका लागि सन् २०२३ मा करिब १ लाख ३० हजार टन इन्धन प्रयोग भएको देखाएको छ । जसमध्ये ५४ हजार टन कोइला, ७३ हजार टन काठको धुलो, १२ सय टन लप्सीका गेडा, १४ सय टन रस निकालेको उखुको ढोड प्रयोग गरिएको थियो ।
उपत्यकाका रहेका अधिकांश ‘जिगज्याक’ प्रविधिमा आधारित इँटा उद्योगबाट वार्षिक १९ सय ५१ टन पिएम २.५ र १२ सय ८८ टन कार्बन मोनोअक्साइड उत्सर्जन हुने अध्ययनले देखाएको छ ।
अध्ययनको नेतृत्व गरेका वायु प्रदूषणविज्ञ भूपेन्द्र दासका अनुसार इँटाभट्टा नजिक बसोबास गर्ने समुदायमा वायु प्रदूषणका कारण दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम अत्यधिक देखिएको छ । इँटाभट्टामा पुरानो प्रविधिको प्रयोग, फोहोर इन्धन र कमजोर नियमनले प्रदूषण झन् बढाएको चर्चा गर्दै उनले जनस्वास्थ्यको सुरक्षाका लागि तत्काल प्रदूषण नियन्त्रण गर्न आवश्यक भएको बताए ।
अनुसन्धानमा सम्बद्ध शोधकर्ताहरूले वायु प्रदूषण न्यूनीकरणका लागि इँटाभट्टामा नयाँ प्रविधि र स्वच्छ इन्धनको प्रयोग गर्नुपर्ने, वायु गुणस्तर अनुगमन नियमित गर्नुपर्ने, सरकारले कडा नियमन तथा नीतिगत सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।
प्रकाशित: १६ कार्तिक २०८२ २१:४७ आइतबार





