१८ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

लालझाडीमा सिकलसेल पहिचान गरिँदै

लालझाडी गाउँपालिकाको शङ्करपुरमा सञ्चालन गरिएको सिकलसेल एनिमिया तथा थालासेमिया निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविरमा ५२० जनाको रगत परीक्षण गरिएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा सम्पन्न उक्त शिविरमा ३९४ महिला र १२६ पुरुषको रगत परीक्षण गरिएको हो।

परीक्षण गरिएकामध्ये ४१ जनामा ट्रेट (बाहक) देखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिए। ट्रेट देखिएका २९ महिला र १२ पुरुषलाई थप पुष्टि परीक्षण (कन्फरमेसन) का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धनगढी पठाइएको छ।  

सिकलसेल एनिमिया र थालासेमिया वंशाणुगत (आनुवंशिक) रगतसम्बन्धी रोग हुन्। फोकल पर्सन भट्टका अनुसार सिकलसेल एनिमियामा रातो रक्तकोशिकाको आकार हँसिया जस्तो हुने भएकाले शरीरका विभिन्न भागमा रगतको प्रवाह अवरुद्ध हुन सक्छ। यसले अत्यधिक पीडा, रक्तअल्पता (एनीमिया), कमजोरी, बारम्बार सङ्क्रमण, हातखुट्टा सुन्निने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, किड्नी, कलेजो तथा अन्य अङ्गमा समस्या जस्ता गम्भीर असर पार्न सक्छ। गम्भीर अवस्थामा यसले जीवन जोखिममा पार्न सक्छ।

थालासेमिया रगतमा हेमोग्लोबिनको मात्रा कम हुने आनुवंशिक रोग हो। यस रोगका बिरामीलाई नियमित रूपमा रगत चढाउनुपर्ने हुन सक्छ र समयमै उपचार नपाएमा विभिन्न जटिल स्वास्थ्य समस्या देखिन सक्छन्।

'यी दुवै रोग पूर्ण रूपमा निको हुने नभए पनि समयमै पहिचान, परामर्श, विवाहअघि परीक्षण तथा आवश्यक उपचार व्यवस्थापनबाट यसको असर कम गर्न सकिन्छ,' फोकल पर्सन भट्टले भने, 'विशेषगरी ट्रेट भएका व्यक्तिहरूबीच विवाह भएमा सन्तानमा रोग देखिने सम्भावना बढी हुने भएकाले स्क्रिनिङ अत्यन्त महत्वपूर्ण हुन्छ।'

समुदायस्तरमै सिकलसेल एनिमिया तथा थालासेमिया जस्ता वंशाणुगत रोगको पहिचान तथा नियन्त्रण गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको फोकल पर्सन भट्टले बताए।

यसैबीच, लालझाडी गाउँपालिकाको आयोजना तथा च्यारिटी हेल्थ फाउण्डेशन नेपाल र धनगढी नेत्रालय, धनगढी कैलालीको प्राविधिक सहयोगमा यहाँ सञ्चालित निःशुल्क आँखा शिविरबाट २४८ जनाले सेवा लिएका छन्। सेवाग्राहीले आँखा परीक्षण गराएका हुन्। परीक्षणका क्रममा २८ जनामा मोतिबिन्दुको समस्या देखिएकाले निःशुल्क शल्यक्रियाका लागि रिफर गरिएको छ भने साथै, ३८ सेवाग्राहीलाई रिडिङ ग्लास (चस्मा) प्रदान गरिएको छ।

ग्रामीण क्षेत्रमा आँखासम्बन्धी रोगको पहिचान तथा समयमै उपचार सेवा विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। मोतिबिन्दु आँखाको लेन्स धमिलो हुने समस्या हो। जसले दृष्टि कमजोर बनाउँदै अन्ततः अन्धोपनसमेत निम्त्याउन सक्छ। तर समयमै शल्यक्रियामार्फत यसलाई सहजै निको पार्न सकिने शिविरमा सहभागी नेत्र चिकित्सकले बताए। रासस

प्रकाशित: १८ चैत्र २०८२ ०८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App