विभिन्न खोप कार्यक्रममार्फत धेरैजसो सरुवा रोगहरू नियन्त्रण उन्मुख भइरहँदा जापानिज इन्सेफ्लाइटिसले भने पुनः महामारीको रूप लिन थालेको छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा यो वर्ष जापानिज इन्सेफ्लाइटिसको संक्रमण र मृत्युदर ह्वात्तै बढेको तथ्याङ्क सार्वजनिक गरेको हो।
महाशाखाको तथ्याङ्क अनुसार यो वर्ष देशभर १७९ जनामा संक्रमण पुष्टि भएकोमा ३५ जनाको मृत्यु भइसकेको छ। यो सङ्ख्या विगतका वर्षहरूको तुलनामा चिन्ताजनक हो।
सन् २०२४ मा यो रोगको संक्रमणबाट २५ जनाको मृत्यु भएको थियो भने कुल ८६ जना संक्रमित भएका थिए।
त्यस्तै, सन् २०२३ मा १०७ जना संक्रमित हुँदा ७ जनाको मृत्यु भएको थियो। महाशाखाका अनुसार सन् २०१४ पछि बीचको करिब ८ वर्षसम्म यो रोगबाट कसैको पनि मृत्यु भएको थिएन। तर, पछिल्लो समय संक्रमण र मृत्युदर पुनः उकालो लागेको छ।
महाशाखाका अनुसार यो वर्ष संक्रमित हुनेहरूमध्ये ४८ प्रतिशत कृषि पेसामा आबद्ध रहेका छन्। विशेषगरी धानखेत र बङ्गुरको खोर नजिक बसोबास गर्नेहरूमा संक्रमण उच्च देखिएको छ।
भौगोलिक रूपमा हेर्दा संक्रमितमध्ये ३२ प्रतिशत पहाडी जिल्लाका र बाँकी तराईका २२ जिल्लाका बासिन्दा छन्। पूर्वी र पश्चिम तराईमा संक्रमण बढी फैलिएको पाइएको छ। मृत्यु हुनेहरूमा अधिकांश खोप नलिएका ४० वर्षमाथिका नागरिक र १५ वर्षमुनिका बालबालिका रहेका छन्।
परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार यो रोग ‘क्युलेक्स’ जातको लामखुट्टेको टोकाइबाट सर्छ। यो लामखुट्टे प्रायः धानखेत, बङ्गुरपालन क्षेत्र र पानी जमेको बस्तीमा फैलने भएकाले ती क्षेत्रका बासिन्दा बढी प्रभावित भएका हुन्।
डा. गौतमले जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप पर्याप्त नहुँदा समस्या बढेको स्वीकार गरे। ‘सरकारसँग खोपको मौज्दात सीमित छ, जसका कारण सीमित बालबालिकालाई मात्र खोप उपलब्ध गराइएको छ,’ उनले भने, ‘मृत्यु हुनेमा धेरैजसो खोप नपाएका ४० वर्षमाथिका समूह छन्।’
सरकारले खोप खरिदका लागि पहल गरिरहेको भए पनि यो खोप महँगो पर्ने भएकाले बजेट व्यवस्थापनमा चुनौती देखिएको डा. गौतमको भनाइ छ। ‘बजेट व्यवस्थापन हुन सकेमा आम नागरिकका लागि खोप ल्याउन सकिन्छ,’ उनले भने।
चिकित्सकहरूका अनुसार यो रोगको संक्रमणपछि मृत्यु हुने सम्भावना उच्च हुन्छ भने बाँचेकाहरूमा पनि जीवनभर शारीरिक वा मानसिक अपाङ्गता हुन सक्छ। तसर्थ, लामखुट्टेको टोकाइबाट बच्नु नै यसको मुख्य उपाय हो।
प्रकाशित: ७ पुस २०८२ १९:१९ सोमबार





