२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
स्वास्थ्य

डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तद्वारा कपिलवस्तु अस्पतालमा प्रदर्शन

कपिलवस्तु अस्पतालका डाक्टरहरूको लापरबाहीले कपिलवस्तु नगरपालिका–७ धमौलीकी सुत्केरीको मृत्यु भएको भन्दै मृतक परिवार र स्थानीयवासीले अस्पताल र प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्।

३० वर्षीया चनरमती यादवको शल्यक्रिया गरी गत साउन ७ गते अस्पतालमा सकुशल बच्चा जन्माइएको थियो। सुत्केरी महिलालाई पिसाब फेर्न समस्या आएपछि अस्पतालले डाक्टरहरूको सल्लाहअनुसार थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पठाएको थियो। त्यहाँ उनको चार दिनसम्म उपचार भएको थियो।

उपचारका क्रममा मिर्गौलामा समस्या देखिएपछि दुई पटक श्रीमतीको डायलासिस गरिएको मृतकका श्रीमान् राजेश यादवले बताए। साउन १२ गते श्रीमतीको मृत्यु भएको उनले जानकारी दिए।

श्रीमतीको उपचारमा कपिलवस्तु अस्पतालका डाक्टरले लापरबाही गरेका कारण यस्तो समस्या आएको र अनाहकमा श्रीमतीले ज्यान गुमाउनु परेको उनले आरोप लगाए। आफ्ना तीनवटै सन्तान सामान्य अवस्थामा नै जन्मिएको तर यसपटक भने डाक्टरको लापरबाही देखिएको उनको भनाइ छ।

श्रीमतीको उपचारका क्रममा कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मीले दुर्व्यवहारसमेत गरेको उनले गुनासो गरे। 

मृतकको शव एम्बुलेन्समै राखेर अस्पताल र प्रशासन कार्यालयमा विरोध प्रदर्शन गरिएको थियो। प्रदर्शनकारीले दोषीलाई कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन्। उनीहरूले डाक्टरविरुद्ध नाराबाजीसमेत गरेका थिए।

कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले मृतक महिलाको शल्यक्रियापछि पनि अवस्था सामान्य रहेको र पिसाब फेर्न समस्या आएपछि थप उपचारका लागि रिफर गरिएको बताए।

मेडिकल कलेजमा समेत चार दिनसम्म उपचार भएको र मिर्गौलामै समस्या देखिएपछि महिलाको दुःखद निधन भएको जानकारी आफूलाई त्यहाँका डाक्टरहरूले सम्पर्कका क्रममा दिएको उनले बताए। उनले डाक्टरहरूको कुनै लापरबाही नभएको दाबी गर्दै पोस्टमार्टम रिपोर्ट आएपछि त्यसअनुसार थप कदम चालिने बताए।

मृतक महिलाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको थियो। तीन दिनसम्म शवको पोस्टमार्टम हुन सकेको थिएन। बिहीबार बिहान मात्रै पोस्टमार्टम गरिएको थियो।

मृतक परिवार र प्रशासन कार्यालयबीच घटनाका विषयमा छलफलसमेत भएको थियो। सोही क्रममा मृतकका श्रीमान् राजेश कुमार यादवले दोषीमाथि कारबाहीका लागि प्रशासन कार्यालयमार्फत मेडिकल काउन्सिलमा उजुरी दिएका छन्।

उक्त उजुरी मेडिकल काउन्सिलमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए। उनले मृतकका श्रीमान्लाई कपिलवस्तु अस्पतालमा रोजगारीका लागि प्राथमिकता दिने विषयमा समेत सहमति भएको जानकारी दिए।

काउन्सिलले छानबिन गरी प्रतिवेदन दिएपछि त्यसका आधारमा कारबाही प्रक्रिया अघि बढाइने उनले बताए।

प्रकाशित: १४ श्रावण २०८३ १९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App