३० वैशाख २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

जुम्लामै न्युरो सर्जरी: बच्यो गोरबहादुरको ज्यान

योग शिविरका लागि जुम्ला पुगेका वीर अस्पताल काठमाडौंका न्युरो सर्जन प्राडा. निलम खड्काले रेफर भइसकेका बिरामीको जुम्लामै शल्यक्रिया गरी ज्यान बचाएका छन्। पातारासी गाउँपालिका–३ छुमगाउँका गोरबहादुर बोहोराको सफल न्युरो सर्जरी गरिएको हो।

वैशाख १८ गते घरको छतबाट लडेर गम्भीर घाइते भएका बोहोराको टाउकोमा चोट लागेको थियो। बेहोस अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका उनलाई भेन्टिलेटरमा राखिएको थियो। तत्काल न्युरो सर्जरी आवश्यक भए पनि प्रतिष्ठानमा विशेषज्ञ र उपकरण अभावका कारण काठमाडौं रेफर गर्ने तयारी गरिएको थियो। तर मौसम प्रतिकूल हुँदा जहाज उड्न सकेन र आर्थिक अभावले परिवार झनै समस्यामा पर्‍यो।

यहीबीच गुठिचौर गाउँपालिकामा ध्यान शिविरका लागि आएका न्युरो सर्जन डा. खड्का जुम्लामै रहेको जानकारी पाएपछि आफन्तले पहल गरेका थिए। बिरामीको अवस्था र आर्थिक अवस्था बुझेपछि डा. खड्का अस्पताल पुगेर शल्यक्रियामा संलग्न भए। टाउकोमा जमेको रगत निकालिएपछि जीवन–मृत्युको दोसाँधमा रहेका बोहोराले नयाँ जीवन पाए।

प्रतिष्ठानका शल्यक्रिया विभाग प्रमुख डा. निर्मल थापाले न्युरो सर्जन अभावमा धेरै बिरामी रेफर गर्नुपर्ने बाध्यता रहेको बताए। “संयोगवश डा. खड्का जुम्ला आउनु भएकाले यो सम्भव भयो, सधैं यस्तो अवसर मिल्दैन,” उनले भने।

झण्डै सात घण्टा लगाएर गरिएको यो शल्यक्रिया कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हालसम्मकै जटिल मानिएको छ। ट्रमा सेन्टर काठमाडौंमा कार्यरत डा. खड्काले उपकरण अभावकै बीच शल्यक्रिया सम्भव भएको बताए। “ड्रिलजस्ता उपकरण पनि थिएनन्, पहिले आएका नाक–कान–घाँटी शिविरले छोडेका सामग्रीबाट काम चलाउनुपर्‍यो,” उनले भने।

शल्यक्रियामा डा. खड्कासँगै डा. निर्मल थापा र इमरजेन्सी वार्डका वरिष्ठ चिकित्सक रमेश काफ्ले सहभागी थिए। निःशुल्क गरिएको उपचारले करिब २० लाख रुपैयाँ बराबरको खर्च जोगिएको बिरामीका आफन्तले बताएका छन्।

बिरामीका छोरा दीपराज बोहोराले “जहाज आएन, काठमाडौं लैजाने पैसा थिएन, डाक्टरले बाबाको ज्यान बचाइदिनुभयो,” भन्दै कृतज्ञता व्यक्त गरे।

न्युरो सेवा अभाव झेल्दै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस्तो सेवा स्थायी रूपमा सुरु गर्न स्थानीयले माग गर्दै आएका छन्। समाजसेवी र विभिन्न सरोकारवालाको आग्रहपछि डा. खड्काले शिविर स्थगित गरी शल्यक्रिया गरेका थिए।

यस मानवीय कार्यप्रति राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्ला, नेपाल पत्रकार महासंघ जुम्लालगायतका प्रतिनिधिले अस्पताल पुगेर चिकित्सकलाई धन्यवाद दिएका छन्।

प्रकाशित: २१ वैशाख २०८३ १९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App