जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा डा. अरुण शाहीको उम्मेदवारी कायम राख्न निर्देशन दिएको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा. शाहीको उम्मेदवारी निर्वाचन समितिले रद्द गरेपछि प्रशासनले मंगलबार संघलाई पत्र लेख्दै उक्त उम्मेदवारी बदर नगर्न निर्देशन दिएको हो।
बागमती प्रदेशबाट सदस्य पदका लागि उम्मेदवारी दिएका डा. शाहीको मनोनयनमा प्रक्रिया नपुगेको भन्दै निर्वाचन समितिले गत पुस ३ गते उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।
संघले गत असोजमा अधिवेशनको सूचना सार्वजनिक गर्दा डा. शाही विदेशमा रहेका कारण उनले वारिसनामा (प्रनिनिधि) मार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।
तर, निर्वाचन समितिले वारिसनामा मार्फत गरिएको दर्ता मान्य नहुने भन्दै खारेज गरेपछि डा. शाहीले उक्त निर्णय गैरकानुनी भएको दाबीसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए।
सोही उजुरीको सुनुवाइ गर्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार पठाएको पत्रमा डा. शाहीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन स्पष्ट आदेश दिएको छ।
पत्रमा भनिएको छ, ‘नेपाल चिकित्सक संघको निर्वाचन नियमावली २०७० को नियम विपरीत लोकतान्त्रिक प्रक्रियामा भाग लिनबाट वञ्चित गर्ने कार्य कानुन विपरीत देखिँदा निजलाई उक्त नियमावली बमोजिम निर्वाचनमा सहभागी गराउन आदेशनुसार अनुरोध छ।’
प्रशासनको आदेशसँगै डा. शाहीको चुनावी प्रतिस्पर्धामा भाग लिने बाटो खुलेको छ। नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि आगामी माघ १ र २ गते शाखा कार्यालयहरूमा तथा माघ १५, १६ र १७ गते काठमाडौंस्थित केन्द्रीय कार्यालयमा मतदान हुने कार्यतालिका रहेको छ।
यो पनि पढ्नुहोस्
चिकित्सक संघ निर्वाचन: डा. शाहीको उम्मेदवारी ‘सुटुक्क’ खारेज, अदालत जाने चेतावनीप्रकाशित: ८ पुस २०८२ १७:१२ मंगलबार





