विश्व स्वास्थ्य संगठनको आगामी साता हुने बैठकमा स्वस्थ बुढ्यौली र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्नु नै मुख्य एजेण्डा हुने भएको छ ।
संघको दक्षिण–पूर्वी एशियाली क्षेत्रीय ७८ औ बैठक असोज २७ देखि २९ सम्म ( अक्टोबर १३ देखि १५) सम्म हुनेछ । श्रींलकामा हुने यो बैठकमा स्वास्थ्य क्षेत्रका नेतृत्वकर्ताहरुले छलफलमा भाग लिंदैछन ।
संघको क्षेत्रीय समितिको अनुसार सदस्य राष्ट्रहरू र विश्व स्वास्थ्य संगठन स्वस्थ बुढ्यौली सम्वन्धी चल्ने छलफलमा यो क्षेत्रमा बृद्धि भइरहेको बृद्धाहरुको जनसंख्यामा भएको तिब्र बृद्धिलाई ध्यानमा राखेर गरिएको संघले जनाएको छ । सन् २०५० सम्मा ६० वर्ष माथिका मानिसहरुको अनुपात २०.९ प्रतिशत पुग्ने अनुमान गरिएको छ । जुन संख्या सन् २०२४ मा ११.० प्रतिशत थियो । वृद्धावस्था रोक्न नसकिने भएपनि, स्वास्थ्य तथा सामाजिक प्रणालीले जनसांखीय परिवर्तनलाई लाभमा रुपान्तरण गर्न पुर्व तयारी हुन आवश्यक रहेकोको यो बिषयलाई प्राथमिकतामा राखिएको हो ।
त्यसैगरी बैठकले सुर्तीजन्य पदार्थ, इ सिगरेट,निकोटिन पाउच र सुपारीको प्रयोग नियन्त्रणको रणनीति माथि पनि छलफल गर्नेछ । यो क्षेत्रमा विश्वभरका सुर्तीजन्य पदार्थ प्रयोगकर्ता मध्येमा एक तिहाइ प्रयोगकर्ता छन् । २८ करोड भन्दा बढी युवाले धुँवा रहित सुर्तीजन्य पदार्थको प्रयोग गर्छन । ती मध्येमा १ करोड १० लाख किशोर–किशोरी छन ।
नयाँ स्वरुपमा निस्केका सुर्तीजन्य पदार्थ,सुपारी प्रयोगको सांस्कृति अभ्यास तथा नयाँ उत्पादनहरु नियन्त्रणको लागि थप चुनौती बनेकोले पनि यो बिषय सुर्तीजन्य पदार्थ नियन्त्रण बैकको प्राथमिकता बनेको संघले जनाएको छ ।
प्राकृतिक विपत्तिको जोखिममा रहेकोमा दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषस्थापना गरेको थियो । यसले हालसम्म १० सदस्य राष्ट्रका ४९ वटा आपतकालीन अवस्थाहरूमा सहयोग पुर्याएको छ । सन् २०१६ मा यस कोषको म्यान्डेटलाई विस्तार गरी आपतकालीन पूर्वतयारी समेत समावेश गरिएको थियो ।
प्रतिजैविक प्रतिरोध विरुद्ध क्षेत्रीय नीतिगत कार्यहरूलाई विश्वव्यापी प्रतिबद्धतासँग समायोजन गर्दै यसलाई तीव्र बनाउनु बैठकको अर्को प्राथमिकता हुनेछ । करिब २ अर्ब जनसंख्या रहेको दक्षिण–पूर्वी एसिया क्षेत्रले मानसिक स्वास्थ्य, आरोग्यता र जीवनस्तर प्रवद्र्धन;महिला, बालिका, किशोर–किशोरी र जोखिममा रहेका व्यक्तिहरूमाथि लगानी;प्रविधि र नवप्रवर्तन; र क्षमताविकास, ज्ञान व्यवस्थापन तथा अनुसन्धानलाई प्राथमिकता दिएको छ ।
बैठकमा सदस्य राष्ट्रका स्वास्थ्यमन्त्रीहरू र वरिष्ठ अधिकारीहरूले दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्यआपतकालीन कोष विस्तार र् प्रतिजैविकप्रतिरोध विरुद्धको कार्यलाई द्रुतगतिमा अघि बढाउने बिषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयसस, विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसियाका कार्यवाहक प्रमुख डा क्याथरिना बोहम र अन्य विज्ञहरूले यस तीन–दिने बैठकमा सहभागिता जनाउनेछन । संघको अनुसार बैठकले आगामी वर्षका लागि क्षेत्रीय मुद्दाहरु पनि तय गर्नेछ । यसको साथै प्राथमिकतामा रहेका स्वास्थ्यका मुद्दाहरुमा प्रगति समिक्षा गर्ने र प्रस्ताव पारित हुनेछ ।
प्रकाशित: २४ आश्विन २०८२ १६:२६ शुक्रबार





