१५ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अङ्गदानले जोगिएका जीवन

नन्दे ज्वाइँदेखि हजुरबासम्म: नयाँ जीवन पाउनेको कथा

आफ्नै परिवारभित्र पनि केही दिनुपर्दा मानिसहरू अनेक बहाना बनाउने समाजमा काभ्रेपलाञ्चोककी एक महिलाले भने नन्दे ज्वाइँलाई मिर्गौला दान गरेर जीवनदान दिएकी छन्।

काभ्रेको पाँचखालकी ४९ वर्षीया सरस्वती मिजारले बनेपाका ३९ वर्षीय विष्णु मिजारलाई आफ्नो मिर्गौला दान गरेपछि अहिले विष्णुले नयाँ जीवन पाएका छन्। विष्णु सरस्वतीका नन्दे ज्वाइँ अर्थात् नन्दका पति हुन्।

चार वर्षअघि रोजगारीका लागि मलेसियामा रहेका विष्णु बिरामी परेपछि स्वास्थ्य परीक्षण गराउँदा दुवै मिर्गौला बिग्रिएको पत्ता लागेको थियो। अवस्था जटिल बनेपछि उनी नेपाल फर्किएर थप उपचारका लागि ललितपुरस्थित क्रिष्ट मेडिकल कलेज पुगे। चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएपछि परिवारमा कसले मिर्गौला दिने भन्ने विषयमा छलफल सुरु भयो।

परिवारका केही सदस्यले मिर्गौला दिन इच्छा देखाए पनि कसैको ‘क्रसम्याच’ मिलेन भने कसैको मिर्गौला नै स्वस्थ पाइएन। अन्ततः परीक्षण गर्दा श्रीमतीकी भाउजू अर्थात् दिदी सासु सरस्वतीको मिर्गौला मिल्यो।

मिर्गौला दिन मिल्ने भएपछि सरस्वती बिना हिच्किचाहट दान गर्न तयार भइन्। उनका पति, छोराछोरी तथा माइती पक्षसमेत यसमा सहमत भए। २०८० साल चैतमा क्रिष्ट मेडिकल कलेजमै प्रत्यारोपण सम्पन्न भयो। अहिले सरस्वती र विष्णु दुवै स्वस्थ छन्।

बिहीबार क्रिष्ट मेडिकल कलेजले आयोजना गरेको अङ्गदातालाई सम्मान कार्यक्रममा उनीहरू पुनः सँगै देखिए। कार्यक्रममा अस्पतालले सरस्वतीलाई सम्मानसमेत गरेको थियो।

आमाछोरा, बाबुआमा, दाजुभाइ वा श्रीमान–श्रीमतीबीच अङ्गदानका घटना तुलनात्मक रूपमा बढी सुनिए पनि अन्य नातामा अङ्गदान गर्ने व्यक्ति भने निकै कम भेटिन्छन्। सरस्वतीले भने नन्द र ज्वाइँ दुवैप्रतिको माया र परिवारको खुसीका लागि मिर्गौला दिएको बताइन्।

‘मैले मिर्गौला नदिएको भए आज ज्वाइँलाई देख्न पाइन्थ्यो कि पाइँदैनथ्यो,’ उनले भनिन्।

उता सरस्वतीबाट नयाँ जीवन पाएका विष्णु आफू जीवनभर ऋणी रहने बताउँछन्। ‘केही फिर्ता दिन पाए हुन्थ्यो जस्तो लाग्छ, तर दिन सकिरहेको छैन,’ उनले भने।

यस्तै करुणादायी उदाहरण उदयपुर बेलटारकी २३ वर्षीया ममता राई पनि हुन्। उनले तीन वर्षअघि आफ्नै हजुरबुवालाई मिर्गौला दान गरेर जीवन जोगाएकी थिइन्।

२०७९ सालमा स्वास्थ्य परीक्षणका क्रममा उनका हजुरबुवाको मिर्गौला फेल भएको पत्ता लागेको थियो। ६० वर्ष नकटेका हजुरबुवाको अवस्था गम्भीर बन्दै गएपछि ममताले कसैसँग सल्लाह नगरी आफ्नो मिर्गौला दिने निर्णय गरिन्। त्यसबेला उनी केवल १९ वर्षकी थिइन्।

हजुरबुवाले सुरुमा मिर्गौला लिन मानेका थिएनन्, तर ममताले आग्रह गरेर प्रत्यारोपण गराइन्। अहिले उनका हजुरबुवा स्वस्थ छन्। पसल जान्छन्, खाना आफैं पकाएर खान्छन्। यही दृश्यले ममतालाई सबैभन्दा धेरै खुशी दिन्छ।

‘हजुरबुवा घरको मूलखम्बा जस्तै हुनुहुन्थ्यो। उहाँ ढल्नुभयो भने परिवार के हुन्छ भन्ने चिन्ता थियो,’ ममताले भनिन्।

बाल्यकालमा हजुरबुवासँग बिताएका मिठा क्षणले उनीहरूबीचको सम्बन्ध झन् गाढा बनाएको थियो। केही वर्ष उनी हजुरबुवासँगै बसेर पढेकी थिइन्। त्यही आत्मीयताले अन्ततः जीवनदानको रूप लियो।

अङ्गदान गर्ने यस्तै दुर्लभ व्यक्तिमध्ये ८० वर्षीया गुमा भण्डारी पनि एक हुन्। उनले आफ्नी छोरीलाई मिर्गौला दान गरेर बचाएकी छन्। बिहीबार आयोजित कार्यक्रममा उनलाई पनि सम्मान गरिएको थियो।

क्रिष्ट मेडिकल कलेजमा यस्ता धेरै बिरामी छन्, जो मिर्गौला वा कलेजो बिग्रिएर जीवन–मरणको दोसाँधमा पुगेका थिए। तर आफन्त र प्रियजनको अङ्गदानले उनीहरूले नयाँ जीवन पाएका छन्।

डा. नारायण भुसाल

अस्पतालका नेफ्रोलोजी विभाग प्रमुख डा. नारायण भुसालका अनुसार पति–पत्नीभन्दा बाहिरका नातामा समेत अङ्गदान गर्ने धेरै प्रेरणादायी व्यक्तिहरू भेटिएका छन्।

उनका अनुसार नेपालमा छोटो अवधिमै विशेष रूपमा अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्ने अस्पतालमध्ये क्रिष्ट मेडिकल कलेज पनि एक हो। गत वर्ष एउटै व्यक्तिमा फरक–फरक व्यक्तिको कलेजो र मिर्गौला एकैपटक प्रत्यारोपण गरेर सफल उपचार गरिएको उनले बताए।

सरकारले ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अङ्ग प्रत्यारोपण गर्ने नीति अघि सारे पनि प्रक्रिया सहज नभएकाले अहिलेसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। त्यसैले आफन्तबाट हुने अङ्गदान नै अहिले बढी प्रभावकारी बनेको डा. भुसाल बताउँछन्।

अस्पतालमा हालसम्म २ सय २ वटा मिर्गौला र १५ वटा कलेजो प्रत्यारोपण भइसकेको छ।

मृत्युको मुखमा पुगेका व्यक्तिलाई आफ्नो अङ्ग दान गरेर नयाँ जीवन दिने सबै व्यक्ति महान् भएको भन्दै अस्पतालले सबै अङ्गदातालाई सम्मान गरेको छ। डा. भुसालका अनुसार अङ्गदानप्रतिको चेतना विस्तार भए भविष्यमा अङ्ग अभावकै कारण कसैले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था हट्न सक्छ।

प्रकाशित: १४ जेष्ठ २०८३ १६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App