काठमाडौं महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्न साना डाक्टर कार्यक्रम सुरु गर्ने भएको छ। कार्यक्रमको प्रारम्भ ४ वटा सामुदायिक विद्यालयमा नमूना रूपमा गरिनेछ।
बुधबार आयोजित ‘साना डाक्टर सम्बन्धी १ दिने कार्यशाला’ मा कार्यक्रमको अवधारणा र सञ्चालन रणनीतिबारे छलफल गरिएको थियो। कार्यशालामा जनप्रतिनिधि, शिक्षा तथा स्वास्थ्य समितिका पदाधिकारी, महानगरका सम्बन्धित विभागीय प्रतिनिधि, विद्यालय नर्स र साझेदारको सहभागिता थियो।
कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य सचेतना अभिवृद्धि र सहसिकाइका लागि कार्यक्रम प्रभावकारी हुने बताइन्। कार्यक्रम कार्यान्वयन गर्दा बोझ नबनाई दिगो र परिणाममुखी बनाउनुपर्ने बताएन् । सामुदायिक विद्यालयमा सफल बनाएपछि संस्थागत विद्यालयमा पनि विस्तार गरिने योजना छ।
शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले विद्यार्थीलाई आत्मविश्वासी र प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए। स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले नमूना कार्यक्रमबाट प्राप्त सुझावका आधारमा विस्तृत योजना बनाइने जानकारी दिए।
विद्यालयका छात्रछात्रालाई स्वास्थ्यसम्बन्धी विषयमा तालिम दिई स्वास्थ्य दूतका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिनेछ। व्यक्तिगत सरसफाइ, पोषण, नसर्ने तथा सरुवा रोग, प्राथमिक उपचार, मानसिक स्वास्थ्य र नेतृत्वलगायत विषयमा प्रशिक्षण दिइनेछ।
पाठ्यक्रममा आधारित ३ महिना तालिमपछि ९ महिना समूहगत रूपमा स्वास्थ्य प्रवर्द्धनका गतिविधि सञ्चालन र पछि एउटा स्वास्थ्य क्लबमा १५ देखि २० जना छात्रछात्रा रहने व्यवस्था गरिने बताइएको छ।
प्रकाशित: २९ माघ २०८२ १६:२० बिहीबार





