ताप्लेजुङ जिल्ला महामारी तथा विपद् व्यवस्थापन समितिले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा सक्रियता बढाएको छ । डेंगी फैलन नदिन लामखुट्टेको प्रजनन र वृद्धि हुने स्थान वा बस्तुहरू पहिचान गरी नष्ट गर्नुपर्ने निष्कर्षका साथ बिहीबार फुङलिङ नगर क्षेत्रका विभिन्न स्थानमा लामखुट्टेको लार्भा खोज्ने तथा नष्ट गर्ने अभियान चलाइएको छ ।
फुङलिङ नगरप्रमुख अमिर मादेन र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा सहितको अगुवाइ तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मी र सरोकारवालाहरूको सहभागितामा सशस्त्र चेकपोइन्ट देखि हेलिप्याड हुँदै तोक्मेडाँडासम्म लार्भा खोज तथा नष्ट अभियान चलाइएको छ ।
प्रजिअ शर्माका अनुसार शुक्रवार जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकाय परिसरमा लार्भा खोज्ने तथा नष्ट गर्ने कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिने छ । यसबाहेक डेंगीको उच्च जोखिम समय साउन देखि असोजसम्म कम्तीमा प्रत्येक साता सम्भावित लामखुट्टेको लार्भा रहने स्थलहरूको पहिचान तथा खोजी गरी लार्भा नष्ट गर्ने अभियान चलाइने प्रजिअ शर्माले बताए ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कुलबहादुर पौडेलका अनुसार लामखुट्टेको जीवनचक्रको मूल स्रोत लार्भा नष्ट गरी डेंगी फैलनु अघि नै रोकथाममा उपाय अवलम्बन गर्न यस्तो अभियान चलाइएको हो । डेंगी नियन्त्रणका अन्य जुनसुकै उपायहरू प्रयोग गरिए पनि खोज तथा नष्ट विधि अनिवार्य रुपमा नियमित र निरन्तर रुपमा अघि बढाउनुपर्ने पौडेलको भनाई छ ।
विशेष गरी खुल्ला छाडिएका वा बिर्को वा ढकन नलगाई छाडिएका ओभेरहेड तथा अण्डरग्राउण्ड पानी ट्याङ्कीहरू,पानी राख्ने ड्रम,गाग्री वा ब्यारेल,घर वा स्वागतद्धारमा सजावटका रुपमा राखिने पानीले भरिएका घडा वा गाग्री वा गमलाको मुनी रहेको पानीको स्रोत लामखुट्टेले प्रजनन वा वृद्धि विकास गर्ने प्रमुख केन्द्रको रुपमा रहने गरेका छन् ।
यस्तै सजावटी इनडोर बोटबिरुवाको फूलदानी तथा ट्रे,कुलरको पानी संकलन हुने ट्रे,फ्रिजको पछाडि जम्ने पानीको ट्रे,घर पालुवा जनावरका लागि राखिने पानीको भाँडाहरू,शौचालयका ब्रस राख्ने स्टेन्ट,पूजा प्रयोजनमा प्रयोग हुने भाँडाहरू र चुहिने वा फुटेका घरभित्रका पाइपहरूमा समेत लामखुट्टेले प्रजनन वा वृद्धि विकास गर्ने आधार बनाउँछ ।
आकाशे पानी जम्ने घरको छत वा अन्य गहिरा भाग,अवरुद्ध नाली वा ड्रेनेज प्रणाली,छानाबाट पानी बग्ने गटर(मगरा),छानामा राखिएका त्रिपाल र घर वरपर बनाइएका पानीका फाउन्टेनहरूमा समेत लाभखुट्टेको प्रमुख बिस्तार केन्द्र बनाइरहेको हुन्छ । प्राकृतिक स्थलहरू केरा,सुपारी जस्ता बोटहरूका पातको काप,रुखको खोँच,फालिएका नरिवलका खोल र अटोमोवाइल वर्कसप तथा ग्यारेजमा राखिएका टायरहरूका समेत लामखुट्टेले आफ्नो वृद्धि विकास गर्ने प्रमुख स्थलको रुपमा रहने गरेको छ ।
फुङलिङ नगरप्रमुख मादेनले कवाडीका सामानहरूको उचित व्यवस्थापन समेतमा नगरपालिकाले ध्यान दिने बताए । दुर्गादल गुल्मका गुल्म पति सेनानी उमेश खड्का,जिल्ला प्रहरी प्रमुख (डिएसपी) वेदप्रसाद गौतम,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्म पति(सशस्त्र प्रहरीका डिएसपी)प्रमोदप्रकाश पाठक सहितका जिल्लास्थित सुरक्षा अधिकारीले डेंगी नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औँल्याएका छन् ।
प्रकाशित: १५ श्रावण २०८२ १५:०५ बिहीबार





