राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित विजयी भएका छन्।
चितवनमा भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार वाग्लेले सबैभन्दा बढी २ हजार ६ सय ५६ मत प्राप्त गरेका हुन्।
वाग्लेले महाधिवेशनस्थल चितवनमा भएको मतदानबाट २ हजार ६ सय ७ मत प्राप्त गरेका थिए भने बाँकी ४९ मत प्रवासबाट प्राप्त गरेका हुन्।
उनलाई प्रवास समितिका तर्फबाट खसेको शतप्रतिशत मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ। बिहान भएको निर्वाचनको अन्तिम परिणाम सुनाउने कार्य अहिले भइरहेको छ।
रास्वपाको संशोधित विधानअनुसार अब केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ। जसमध्ये ९९ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन्।
बाँकी सदस्यहरूमध्ये ५१ जनालाई सभापति रवि लामिछानेले मनोनीत गर्ने वैधानिक व्यवस्था छ। त्यस्तै, पार्टीका ७ वटै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने भएकाले उनीहरू स्वतः केन्द्रीय सदस्य हुनेछन्।
प्रकाशित: ११ असार २०८३ २१:०३ बिहीबार





