खोटाङ यस वर्ष पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषणा भएको छ। जिल्लाभरका सबै खोप लगाउने उमेर समूहका बालबालिका तथा गर्भवती महिलाले तोकिएबमोजिम खोप पाइसकेको सुनिश्चित भएसँगै जिल्लालाई यस वर्षको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।
स्वास्थ्य कार्यालय खोटाङले सरकारले निःशुल्क उपलब्ध गराउने विभिन्न १३ प्रकारका खोप १५ महिनामुनिका बालबालिकाले पाइसकेको जनाएको छ। जसमा १ महिनासम्मका १ हजार ४ सय ९९ जना, १२ देखि १५ महिनासम्मका ६ सय ५३ तथा १६ देखि २३ महिनासम्मका १ हजार २ सय ६८ बालबालिका रहेका छन्। त्यसैगरी २४ देखि ५९ महिनासम्मका ५ हजार २ सय १७ र १६ देखि ५९ महिनासम्मका ६ हजार ४ सय ७८ बालबालिका खोपबाट लाभान्वित भएको स्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख छ।
यसरी लक्षित समूहले सबै प्रकारका खोप लगाएको सुनिश्चित भएसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलप्रसाद पौडेलले बताए। उनका अनुसार १० स्थानीय तह रहेको खोटाङमा वडादेखि सबै गाउँ तथा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा गरिसकेपछि जिल्लालाई घोषणा गरिएको हो।
मंगलबार जिल्ला खोप समन्वय समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले गमलामा फूल सिँचेर खोटाङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषणा गरेका हुन्। सो अवसरमा पूर्ण खोप सुनिश्चित घोषणा भएका जिल्लाका २ नगरपालिका र ८ गाउँपालिका गरी १० वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई प्रशंसापत्र पनि प्रदान गरिएको थियो।
खोटाङलाई पहिलो पटक २०७४ पुस १४ गते ३१औं पूर्ण खोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषणा गरिएको थियो। त्यसपश्चात हरेक वर्ष पूर्ण खोप सुनिश्चित घोषणा गर्ने क्रमलाई निरन्तरता दिँदै आएको जिल्ला समन्वय प्रमुख राईले बताए।
प्रकाशित: १६ असार २०८३ २०:०५ मंगलबार


-600x400.jpg)


