नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो पहिलो १०० दिनमा नागरिकको वास्तविक जीवन भन्दा सामाजिक सञ्जालको लोकप्रियतालाई बढी प्राथमिकता दिएको बताएका छन्।
आइतबार कांग्रेसद्वारा आयोजित सरकारको १०० दिने कार्यसम्पादन समीक्षा कार्यक्रममा बोल्दै थापाले सरकारका गतिविधिको आलोचना गर्दै लोकप्रियतामुखी निर्णयले दीर्घकालीन रूपमा देशलाई क्षति पुग्ने बताए।
उनले सरकारका केही सकारात्मक पक्ष पनि स्वीकार गर्दै प्रधानमन्त्री बालेन शाहले विगतका सरकारको तुलनामा सिंहदरबार केन्द्रित भएर शासकीय जिम्मेवारीमा बढी ध्यान दिएको बताए। ‘प्रधानमन्त्रीको रूपमा सिंहदरबारबाट निर्वाह गर्नुपर्ने भूमिकालाई प्राथमिकता दिएको देखिएको छ। यो सकारात्मक पक्ष हो र यसले निरन्तरता पाओस् भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै थापाले भने, ‘यो सरकारलाई नागरिकको ‘लाइफ’ भन्दा ‘लाइक’ को चिन्ता बढी देखियो। वास्तविक जीवन र जीविकाका सवालभन्दा सामाजिक सञ्जालको लोकप्रियतालाई प्राथमिकता दिने प्रवृत्ति सरकारमा देखिएको छ,’ उनले भने।
भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि कानुनी प्रक्रिया अघि बढाउन सकिने अवस्था हुँदाहुँदै सरकारले डोजर प्रयोग गरेर प्रचारमुखी शैली अपनाएको बताए। साथै, दलित समुदायसँग माफी माग्ने घोषणा पनि व्यवहारभन्दा बढी प्रचारमुखी भएको बताए।
थापाले लोकतान्त्रिक शासन व्यवस्थामा परिणामसँगै विधि, प्रक्रिया र कानुनी शासन उत्तिकै महत्त्वपूर्ण हुने भन्दै प्रक्रिया बेवास्ता गर्ने प्रवृत्तिले भविष्यमा गम्भीर समस्या निम्त्याउन सक्ने बताए। ‘सरकारको सोच, प्रक्रिया केही होइन, परिणाम मात्रै महत्त्वपूर्ण हो भन्ने देखिएको छ। तर लोकतन्त्रमा परिणाम जति महत्त्वपूर्ण हुन्छ, त्यो प्राप्त गर्ने प्रक्रिया पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ,’ उनले भने।
अर्थतन्त्रका विषयमा बोल्दै थापाले बजारमा लगानी गर्ने आत्मविश्वास कमजोर बन्दै गएको बताए। साथै बैंकिङ प्रणालीमा पर्याप्त तरलता र कम ब्याजदर हुँदाहुँदै पनि कर्जा माग नबढ्नु त्यसैको संकेत भएको उनको भनाइ थियो।
उनले सरकारले निजी क्षेत्रप्रति अविश्वासको वातावरण सिर्जना गरेको आरोप लगाउँदै यस्तो अवस्थाले नयाँ लगानी र रोजगारी सिर्जनामा असर पर्ने बताए।
संविधान र लोकतान्त्रिक संस्थाप्रति सरकारको प्रतिबद्धतामाथि पनि प्रश्न उठाउँदै थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा प्रस्तुत गर्न नहुने बताए। उनले संविधान संशोधन आवश्यक भए पनि व्यापक राजनीतिक सहमति, अध्ययन र संवेदनशीलताका आधारमा मात्र अघि बढाउनुपर्ने बताए।
परराष्ट्र नीतिमा पनि सरकारले राष्ट्रिय हितभन्दा आन्तरिक राजनीतिक लोकप्रियतालाई प्राथमिकता दिएको उनको आरोप छ। उनले नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील मुलुकले छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति अघि बढाउनुपर्ने बताए।
थापाले सरकारको १०० दिनको समीक्षा पाँच मुख्य प्रवृत्तिमा केन्द्रित रहेको उल्लेख गर्दै सरकारलाई रचनात्मक रूपमा खबरदारी गर्ने कांग्रेसको दायित्व रहेको बताए।
‘हामी अहिले प्रतिपक्षमा छौं। प्रतिपक्षको दायित्व सरकारलाई प्रश्न गर्ने, विकल्प दिने र आवश्यक ठाउँमा समर्थन गर्ने पनि हो। हामी सरकार असफल होस् भन्ने होइन, सही बाटोमा जाओस् भन्ने चाहन्छौं, ’उनले भने।
प्रकाशित: २१ असार २०८३ १४:५४ आइतबार





