११ कार्तिक २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

अनलाइनबाट स्वास्थ्य बिमामा जोडिन काठमाडौंवासी उत्साहित

गत असारसम्म स्वास्थ्य बिमामा आबद्ध हुन स्थानीयले वडा कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो। बिमा बोर्डले साउनदेखि लागु हुने गरी बिमामा आबद्ध हुन अनलाइनमार्फत फाराम भर्न सुरु गरेपछि का जिल्लावासी त्यसतर्फ आकर्षित हुन थालेको स्वास्थ्य बिमा कार्यालय काठमाडौंले जनाएको छ।

स्वास्थ्य बिमा काठमाडौंका दर्ता अधिकारी नवराज भट्टराईका अनुसार अनलाइनबाट फाराम भर्न सुरु भएपछि काठमाडौंवासी बिमातर्फ थप आकर्षित भएका छन्।

चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएयता दुई महिनामा काठमाडौंमा ७ हजार ७४५ जना बिमामा आबद्ध भएका छन् भने आबद्ध हुने कुल परिवार संख्या २९६ पुगेको छ। त्यसैगरी नवीकरण गराएका घरपरिवार पनि २४२ छन्।

यसअघि काठमाडौंमा बसोबास गर्ने अस्थायी बासिन्दा अर्थात् अन्य जिल्लाका व्यक्तिहरू पनि समावेश रहेको बिमित संख्या आउँथ्यो। अनलाइन फाराम भर्न थालिएपछि भने काठमाडौं जिल्लावासीको मात्र छुट्टै दर्ता भएर आउने गरेको छ।

काठमाडौंमा हालसम्म बिमित ४१ हजार २१८ जना छन् भने भने साउनयता अनलाइन र अफलाइनमार्फत बिमामा आबद्ध हुने अर्थात् नवीकरण गर्नेको संख्या ४० हजार २०८ जना अर्थात् ७३ प्रतिशतले नवीकरण गरेका छन्।

 अघिल्लो आव २०८१/८२ मा बिमा नवीकरण गर्नेको संख्या ७२ प्रतिशत थियो। अनलाइन बिमितमार्फत १७ लाख ३ हजार १०० रुपैयाँ संकलन भएको कार्यालयले जानकारी दिएको छ। अन्य बिमितमध्ये ६६ परिवार लक्षित वर्गका थिए। चालु आवमा नवीकरण गर्ने र नयाँ आबद्धता दुवै वृद्धि हुने सम्भावना देखिएको दर्ता अधिकारी भट्टराई बताउँछन्।

उनका अनुसार चालु आवका दुई महिनाभित्र करिब आठ हजार जना अनलाइनमार्फत बिमामा आबद्ध भएअनुसार आवको अन्तिमसम्म करिब एक लाखभन्दा बढी नयाँ आबद्धता हुने सम्भावना छ।

धेरैलाई अहिले पनि अनलाइनमार्फत बिमामा आबद्धताबारे जानकारी नभएकाले कम संख्या मात्र बिमामा आबद्ध भएको र यो सुविधाबारे थप जानकारी पाएपछि बिमामा आबद्धता थप बढ्न सक्ने उनको आकलन छ। ‘पहिला वडामा या बिमा बोर्डले अभियान चलाएको घरदैलो कार्यक्रममार्फत बिमामा दर्ता हुनुपथ्र्यो, त्यतिबेला सबैलाई फुर्सद हुँदैनथ्यो, अहिले फुर्सद भएको बखत अनलाइनबाटै भर्न मिल्ने भएको छ, कही पुग्नै परेन,’ उनले भने।

अनलाइनमार्फत बिमामा आबद्ध हुन समय अनुकूल घरैबाट मिल्ने भएपछि सहज भएकाले आबद्धता बढेको भट्टराईले बताए।

प्रकाशित: ११ कार्तिक २०८३ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App